
काठमाडौँ । पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ ।
सोमवार बसेको राष्ट्रिय सभाको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसमा सांसदहरूले छलफल गरी प्रश्न गरेका थिए ।
मन्त्री दाहालले छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विधेयकलाई आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न बाटो खोल्ने बताए । कोशी र नारायणी नदीबाट भारतसम्मको पहुँच अभिवृद्धि गर्न र गंगा नदी हुँदै कोलकतासम्मको पहुँच विस्तार गर्नसके समुन्द्रसम्म पुग्न सकिने बताए । अध्ययन मात्रै गर्ने भएकाले आन्तरिक र बाह्य रूपमा पहुँच अभिवृद्धि गर्न धेरै बजेट माग नगरिएको बताए ।
मन्त्री दाहालले जवाफ दिइसकेपछि पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव गरे । । जसलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरे । बहुमत सांसदहरूको समर्थनसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे ।