
इलाम। जिल्लाको रोङ गाउँपालिका कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा छनोट भएको छ।
देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) ले रोङलाई शिक्षा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानका आधारमा यो सम्मान प्रदान गरेको हो।
प्यानद्वारा गठित मूल्याङ्कन समितिले प्रदेशभरका पालिकामध्ये रोङ गाउँपालिकालाई २५ वटा मापदण्डका आधारमा उत्कृष्ट ठहर गरेको हो। समितिको संयोजकत्व प्राध्यापक डा. विद्यानाथ कोइरालाले गरेका थिए।
प्यानका अध्यक्ष सुदाम प्रसाद गौतमका अनुसार मूल्याङ्कनमा शिक्षामा गरिएको लगानी (३० अंक), निःशुल्क र समावेशी शिक्षा (१० अंक), दीर्घकालीन योजना (१० अंक), असल अभ्यास (२० अंक), प्राविधिक सञ्चालन (१० अंक), स्थानीय पाठ्यक्रम तथा प्रविधि प्रयोग (१० अंक) र सुशासन (१० अंक) जस्ता सूचक समावेश थिए।
प्यानले जेठ २६ गते पोखरास्थित सभा गृहमा आयोजना हुने विशेष कार्यक्रममा रोङ गाउँपालिकालाई पुरस्कार र सम्मानपत्र प्रदान गर्ने जनाएको छ।
रोङ गाउँपालिकाले पछिल्ला वर्षहरूमा प्रविधिमैत्री विद्यालय स्थापना, अभिभावक शिक्षाको कार्यान्वयन, विज्ञान प्रदर्शनी र बाल बचत खाता जस्ता अभियान सञ्चालन गर्दै आएको छ।
शिक्षा शाखा प्रमुख श्रुती तामाङका अनुसार पालिकामा महिनामा एक दिन विद्यार्थीहरू घरमै बसेर अभिभावक विद्यालयमा पढ्न जाने अभ्यास सुरु गरिएको छ।
गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबोले पालिकाभित्र सञ्चालन भइरहेको बाल बचत कार्यक्रममा करिब एक करोड रुपैयाँ जम्मा भइसकेको जानकारी दिए।
उनले शिक्षालाई पालिकाले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै यस प्रकारको मूल्याङ्कनले कर्मचारी र सरोकारवालालाई थप हौसला मिलेको बताए।
हाल रोङ गाउँपालिकामा ३० वटा सामुदायिक तथा २ वटा संस्थागत विद्यालय रहेका छन्। गत वर्ष यो सम्मान इलामकै सूर्योदय नगरपालिकाले प्राप्त गरेको थियो।