
काठमाडौं । मौसम अनुकूल भएसँगै हिजो एकैदिन १३५ जना आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
वसन्तयामको आरोहणमा एकैदिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।
सगरमाथाको आधारशिविरमा रहेको विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले हिजो धेरै आरोहीले सगरमाथा चढेका हुन् ।
सगरमाथा आरोहणको शुरुका केही दिन आरोहण अवरुद्ध भए पनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए।
अहिलेसम्म २०० जनाभन्दा बढीले सगरमाथा आरोहण गरेको र आज पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको उनले जानकारी दिए।
यसैबीच फोटो पत्रकारसमेत रहनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौं पटक सगरमाथा आरोहण गरेका छन् । श्रेष्ठले हिजो बिहान सगरमाथाको चुचुरोमा पाँचौं पटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ ।
श्रेष्ठले गएको वर्ष एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सात वर्षअघि पहिलो पटक सगरमाथा आरोहण गरेका थिए।
विभागको तथ्याङ्कअनुसार वसन्त ऋतुमा अहिलेसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् ।