
झापा । इजरायल र हमासबीच गाजामा युद्धविरामका लागि नयाँ चरणको वार्ता शुरु भएको छ । यो वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौताको सन्दर्भमा थप इजरायली बन्धकहरू रिहा गर्ने प्रस्तावलाई अगाडि सारेको छ ।
इजरायली सेनाले गाजा क्षेत्रमा ठूलो आक्रमण शुरु गरेको केही घण्टापछि दुवै पक्षबीचको नयाँ चरणको वार्ता शुरु भएको बीबीसीले जनाएको छ ।
प्रस्तावअनुसार हरेक दिन गाजामा चार सय वटा राहत सामग्री भरिएका ट्रक प्रवेश गर्ने र त्यहाँबाट बिरामीलाई निकाल्ने अनुमति पनि दिइनेछ ।
युद्धविरामसम्बन्धी वार्ताको यो चरण कतार र अमेरिकाको मध्यस्थकर्तामार्फत दोहामा भइरहेको छ । इजरायलले अहिलेसम्म प्रस्तावित सम्झौताबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।