२०८२ जेठ १, बुधवार , ११:४४:०१ बजे

Sajhamanch
'

शान्ति सुरक्षामा ‘नो कम्प्रोमाइज’ : गृहमन्त्री लेखक

बुधवार, जेठ १, २०८२

विराटनगर । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षामा कुनै कम्प्रोमाइज नहुने बताएका छन् ।

शान्ति सुरक्षा मजबुत हुँदा मात्रै विकासले फड्को मार्ने भन्दै उनले शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताएका हुन् ।

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले मुलुकको पहिलो आवश्यकता नै शान्ति सुरक्षा रहेको बताए ।

पछिल्लो समय सुरक्षामा नयाँ चुनौती देखापरेको भन्दै उनले बदलिँदो समयसँगै देखिएका अपराधका नयाँ–नयाँ शैलीलाई विश्लेषण गर्दै सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए ।

साइवर क्राइम, लागुऔषध प्रयोग, सवारी दुर्घटना र आत्महत्याका घटना बढेको बताउँदै उनले भने, ‘यी अपराध र घटना एकअर्कासँग अन्तरसम्बन्धित छन्, निर्मम रुपमा लागेर यी घटना नियन्त्रण गर्नुपर्छ ।’

सीमा क्षेत्रमा तस्करी बढेको बताउँदै उनले त्यसलाई तुरुन्त रोक्न निर्देशन पनि दिए । ‘यसले राजस्व घटाएको छ, अपराध बढाएको छ । अबको एक महिना भित्र अनुभूति हुनेगरी तस्करी रोक्नुहोस्, गृहमन्त्री लेखकले भने, ‘भएन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ ।’

उनले व्यवस्था विरोधी र संविधान विरोधी गतिविधि सैह्य नहुने पनि बताए । आजको युगमा जन्मका आधारमा शासन गर्न नपाइने भन्दै गृहमन्त्री लेखकले लोकतन्त्र र संविधान रक्षाका निम्ति कुनै कम्प्रमाइज नगर्न निर्देशन दिए ।

जिल्ला प्रशासन र प्रहरी कार्यालमा आउने सेवाग्राहीलाई गर्ने व्यवहार र प्रवाह गर्ने सेवाले नागरिकले व्यवस्थाप्रति धारणा बनाउने बताउँदै उनले सजिलो, छिटो र स्वाभिमानपूर्वक सेवा पाउने वातावरण बनाउन निर्देशन समेत दिए ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साइबर सुरक्षा र लागुऔषध प्रयोगको चुनौती थपिएको बताए । त्यसमा विशेष चासो राख्न सुरक्षा निकायलाई आग्रह गरे ।

प्रदेशमा पहिचानवादी आन्दोलन पनि सुरक्षा चुनौतीको रुपमा रहेको उनले सुनाए । सुशासनका लागि पनि सुरक्षा महत्त्वपूर्ण रहेको बताउँदै उनले सुशासनका विषयमा राज्य संवेदनशील हुनुपर्ने बताए ।

सम्बन्धित खबर