२०८२ वैशाख २९, सोमवार , ०३:०४:३२ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीले भने– हामीले भारत–पाकिस्तानलाई नलड्न सुझाव दियौं

सोमवार, वैशाख २९, २०८२

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल हुन लागेको तर आफूहरुले त्यसो नगर्न सुझाव दिएको बताएका छन् ।

आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना गर्‍यौं । उहाँहरूसँग पनि कुरा गर्‍यौं, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

भारत–पाकिस्तानबीच फेरि पनि आरोप प्रत्यारोपको स्थिति रहेको भन्दै उनले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताए ।

बुद्ध जन्मस्थल लुम्बिनी विश्वमा शान्तिको सन्देश छर्ने पवित्र भूमि भएको उनले बताए । लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बुद्धका शान्ति, प्रेम र करुणा फैलाउने तथा संसारमै हिंसा नहोस् भन्ने सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे ।

ओलीले बुद्धका सन्देश र आदर्श हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वको शान्तिका अति उपयोगी रहेको बताए । बुद्धका सन्देशको थप खोज अनुसन्धान र विस्तारको काम लुम्विनी बौद्ध विश्व विद्यालयले गर्नु पर्ने प्रधानमन्त्रीले आग्रह गरे ।

लुम्बिनीको गुरुयोजना अनुसार काम सकेसम्म छिटो पूरा गर्न सरकार लागेको उनले बताए ।

प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार जना क्षमताको सभा हल आफ्नै अग्रसरतामा निर्माण भएको स्मरण गरे । तर हलमा ध्वनी प्रणाली राम्रो नभएको टिप्पणी गर्दै उनले तत्काल सुधार गर्न निर्देशन दिए ।

वक्ता बोलेको कुरा हलमा उपस्थित सबैले स्पष्ट सुन्न सकिने गरी बनाउन प्रधानमन्क्रीले निर्देशन दिए । हलमा कार्यत्रम हुँदा विभिन्न भाषामा उल्था गर्ने जनशक्ति र प्रविधि व्यवस्था गर्न आग्रह गरे ।

सम्बन्धित खबर