२०८२ वैशाख २९, सोमवार , १२:२८:२० बजे

Sajhamanch
'

बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की

सोमवार, वैशाख २९, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व शान्ति र विकासको खोजीमा रहेको जनाउँदै गौतमबुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताएका छन् ।

२५६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र समृद्धिको पथमा लम्किरहेका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

उनले आज विश्व शान्ति र अहिंसाको खोजीमा रहेको चर्चा गर्दै सुन्दर, विशाल र शान्त भूमिमा जन्मिएर गौतमबुद्धले देखाको सत्मार्गलाई आत्मसात् गरेर अघि बढ्न सके संसार शान्तिको बाटोमा उभिन सक्ने विश्वास व्यक्त गरेका छन् ।

उहाँका दिव्य ज्ञानलाई विश्वका कुनाकुनामा फैलाउन सके नेपालको मात्र होइन, विश्वकै उन्नति र प्रगति हुने आशा व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले शान्तिका प्रतीकका रूपमा रहेका महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु र यहाँबाट हामीले शान्तिको सन्देश विश्वभर फैलाउन सक्नु हाम्रो गौरवको विषय भएको उल्लेख गरेका छन् ।

उहाँले नेपाल बहुजाति, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक रहेको स्मरण गर्दै यो विविधता बीचमा बुद्धले हुर्काएको बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति भएको बताएका छन् । बुद्धको दर्शनलाई हामीले संसारभर फैलाउँदै समृद्धिको यात्रालाई बल पुर्याउन सकिने भन्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा यो दिनले धार्मिक, सामाजिक तथा आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाउन सक्ने उल्लेख गरेका छन् ।

सम्बन्धित खबर