
काठमाडौं । पानी पर्न कम भएसँगै देशैभर गर्मी बढ्न थालेको छ । तराईमा अझ धेरै गर्मी बढेको छ ।
आज सबैभन्दा बढी तापक्रम नेपालगञ्जमा ३७ डिग्री सेल्सियसम्म पुग्ने अनुमान रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिए।
यस्तै धनगढी, धरान, भैरहवा, सिमरा, विराटनगर, जनकपुरलगायतका शहरमा पनि तापक्रम ३६ देखि ३७ डिग्रीको आसपासमा रहने उनको भनाइ छ ।
देशका धेरै ठाउँमा केही दिनदेखि परेको पानीका कारण केही शीतल भएकामा हिजोदेखि पानी पर्न कम भएपछि फेरि गर्मी बढेको हो । काठमाण्डौको तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान छ ।
यसैबीच आज पहाडी भू–भागका थोरै ठाउँमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।
महाशाखाका अनुसार देशमा पश्चिमी तथा स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको छ ।