
काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार भएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको छ ।
नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीका अनुसार अर्थतन्त्रलाई लयमा ल्याउने गरी आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव सत्तारुढ दलका नेताहरूको छ ।
‘समग्रमा विगत वर्षको भन्दा मेजर ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम आओस् भनेर नेताहरूले सुझाव दिनुभएको छ,’ उनले भने ।
समग्रमा बसइँसराइ रोक्नका लागि पहाड केन्द्रित रोजगारी, कृषि विकास र पशुविकासका कार्यक्रमहरू अगाडि बढाउने विषयमा पनि सुझाव आएको उनको भनाइ छ ।
बैठकमा खास गरी लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने विषयमा छलफल भएको उनले बताए ।
विकास निर्माणलाई प्रभावकारी बनाउन आयोजनाहरूलाई उच्च प्राथमिकीकरण गर्नुपर्ने विषयमा बैठकमा सहभागी नेताहरूबाट सुझाव आएको उनले बताए ।
आयोजनाहरू अत्यन्त धेरै छरिएको र स्रोतहरूको एक किसिमले अपव्यय भइरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ सुझाव पनि आएको उनले बताए ।
उनले भने, ‘खासगरी युवा पुस्ताहरूमा आशा र विश्वास जगाउनका लागि निम्ति उनीहरूमा उद्यमशीलता, सिप विकास, स्टार्टअप, व्यावसायिक प्लान्ट र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरू आओस् भन्ने पनि दलहरूले सुझाव दिनु भएको छ ।’
अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल संरचना र फजुल खर्चहरूलाई निर्मतापूर्वक कटौती गर्ने र सरकारको कार्य दक्षता बढाउने विषयमा पनि छलफल भएको उनले बताए ।
वाह्य सम्बन्धहरूलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको उनले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।