
मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण आएर यार्सागुम्बा सङ्कलन गर्न थालेका हुन् ।
संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०८० र अन्य प्रचलित कानूनबमोजिम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयबाट यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन गर्न अनुमति लिन थालेका छन् ।
अनुमति प्राप्त भएपछि मात्र संरक्षण व्यवस्थापन समितिले सङ्कलनकर्तालाई आफ्नो क्षेत्रभित्र सङ्कलन पुर्जी दिने गरिएको छ । मनाङका सबै पालिकाभित्रका संरक्षण क्षेत्रका वन क्षेत्रमा यार्सागुम्बा सङ्कलनको अनुमति दिने तथा जिल्लाबाहिरका नागरिकलाई यार्सागुम्बा सङ्कलनको अनुमति सम्बन्धित संरक्षण व्यवस्थापन समितिले दिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।
यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति पाएपछि मात्रै सङ्कलक हिमाली भेगतर्फ लाग्छन् । नार्पाभूमिका लेकमा जिल्लाभित्रका नागरिकलाई यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिइएको छ भने बाहिरी जिल्लाका नागरिकलाई भने अनुमति दिइएको छैन ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको समय शुरू भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताउनुभयो ।
वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समय हो । यार्सागुम्बा सङ्कलनकर्ताबाट सङ्कलन गरेको यार्सागुम्बा खरिद गर्न आउने व्यक्तिलाई जिल्लाका भएमा प्रतिव्यक्ति २० हजार र जिल्लाबाहिरका खरिदकर्तालाई प्रतिव्यक्ति ४० हजार रुपैयाँका दरले संरक्षण क्षेत्र व्यवस्थापन समितिले दस्तुर लिने गरेको छ ।
चार वटा पालिका रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबैमा यार्सागुम्बा पाइन्छ । मनाङको नाम्ग्य लेक, किन्चो लेक, याक लेक, पिसाङ लेक, फू लेक, मनाङ लेक, आइस लेक, स्याक्यु लेक, थोराङ्ला लेकलगायतका क्षेत्रमा यार्सागुम्बा बढी मात्रामा पाइन्छ ।