२०८२ वैशाख १२, शुक्रवार , ०५:३४:४३ बजे

Sajhamanch
'

पानी पर्न रोकिएसँगै डढेलोका घटना बढ्न थाल्यो

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । चैत अन्तिम हप्तामा भएको वर्षाले देशभरको डढेलो निभाएकोमा फेरि अहिले पानी पर्न रोकिएसँगै डढेलो फैलन थालेको छ ।

वन तथा भू संरक्षण विभागको तथ्याङ्कानुसार हिजो देशका ६८ ठाउँमा डढेलो लागेको छ । अहिले पनि देशका ३५ भन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहेको छ । डढेलो फैलिरहेको बेला चैत अन्तिम हप्ताको वर्षाले झन्डै नौ सय ठाउँको डढेलो पूर्णरूपमा निभाएको थियो ।

जल तथा मौसम विज्ञान विभागले तापक्रम अझै बढ्ने चेतावनी दिइरहेकोले डढेलो अझै बढ्न सक्ने डढेलो विज्ञ सुन्दर शर्माले बताए।

नेपालमा सबैजसो डढेलो मानवीय क्रियाकलापले लाग्ने गरेको पाइन्छ । शर्माका अनुसार झन्डै ९८ प्रतिशत डढेलो मानवीय क्रियाकलापका कारण हुने गरेकोमा ६६ प्रतिशतभन्दा धेरै डढेलो मानिसले जानीजानी लगाएको आगो फैलिएर हुन्छ ।

डढेलो निभाउन सामर्थ्य र स्रोत साधनको अभावका कारण कि जङ्गल डढिसक्नुपर्ने वा अकाशबाट पानी पर्नुपर्ने बाध्यता रहेको छ ।

यसैबीच सुक्खा र डढेलो बढेसँगै वायु प्रदूषण पनि बढेको छ । आज काठमाडौं उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई १२९ नाघेको छ ।

अहिले काठमाडौं विश्वका उच्च प्रदूषित शहरको चौथो नम्बरमा छ । यसअघि पानी पर्दा वायु प्रदूषण पनि हटेको थियो ।

 

 

 

 

 

शुक्रवार, वैशाख १२, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर