
काठमाडौं । नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले आज शपथ लिँदै छन् । शपथसँगै उनले आजैदेखि काम थाल्ने छन् ।
निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि पन्त शिक्षामन्त्रीमा नियुक्तभएक हुन ।
सामुदायिक विद्यालयका शिक्षकहरु तीन हप्ताभन्दा धेरै समयदेखि आन्दोलनरत रहेको बेला पन्त शिक्षामन्त्रीको जिम्मेवारीमा पुगेका छन् ।
शिक्षक आन्दोलनको समाधान खोज्दै विद्यालयमा शैक्षिक गतिविधि पूर्ववत् रुपमा सञ्चालन गर्नु नवनियुक्त शिक्षामन्त्री पन्तको मुख्य चुनौती रहेको छ ।
शिक्षक आन्दोलनको कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना र पठनपाठन अवरुद्ध छ । एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन भने आजदेखि शुरू हुनुपर्ने कक्षा १२ को परीक्षा १० दिन पछाडि सारिएको छ ।
शिक्षामन्त्री पन्तले पदभार ग्रहणसँगै आन्दोलनरत शिक्षकसँग संवाद गरेर समाधान खोज्न दबाब बढेको छ ।
नवनियुक्त शिक्षामन्त्री पन्तसँग २०६१ सालमा श्रम तथा यातायात व्यवस्थामन्त्री बनेको अनुभव छ । उनी २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी र २०६६ सालका प्रधानमन्त्री माधवकुमार नेपालका प्रेस सल्लाहकार थिए ।
अहिले एमाले स्थायी कमिटी सदस्यसमेत रहेका पन्त समानुपातिक प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनु।
उनको पृष्ठभूमि पत्रकारितासँग पनि जोडिन्छ । उनले २०३२ सालदेखि पत्रकारिता शुरू गरेका थिए। पन्तले बुधवार साप्ताहिक, छलफल साप्ताहिक, नवयुग मासिक, युगधारा (रातो) र नेपाल पत्रकार महासङ्घमा महासचिव भएरसमेत काम गरेका थिए।