२०८२ वैशाख ६, शनिवार , ०१:२८:५९ बजे

Sajhamanch
'

म्याद थपेको थप्यै, बजेट निकासा भएन, धुलाबारी–इरौंटार सडक निर्माणको प्रगति ६५ प्रतिशतमात्र !

शुक्रवार, चैत २९, २०८१

मेचीनगर । बहुवर्षीय योजना अन्तरगत निर्माणाधिन धुलाबारीदेखि इरौंटार सडकको कार्य करिब ६५ प्रतिशतमात्र पूरा भएको जनाइएको छ ।

आज कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र बुद्वशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई सहितको टोलीले धुलाबारीदेखि इरौंटारसम्मको सडक निर्माण कार्यको स्थलगत निरीक्षण अवलोकन गरेको समयमा सो कुरा जानकारी दिइएको हो ।

२०७६ कात्तिक २० गते ठेक्का सम्झौता भएको भद्रपुर, ज्यामिरगढी, धुलाबारी, गोजाबस्ती, मागुरमाडी, शान्तिनगर हुँदै इलामको इरौंटार जोड्ने सडकको अहिलेसम्म निर्माण कार्य भइरहेको छ । भद्रपुरदेखि ज्यामिरगढी सडकको भने यसअघि नै काम भइसकेको छ ।

२०७९ असार ३१ गते सम्पन्न हुनुपर्नेमा गौरवको योजना अन्तरगतको सो सडक २५ दशमलव ३६० किलोमिटर खण्ड अझै निर्माणाधिन अवस्थामा रहेको पाइएको हो ।

उक्त ठेक्का कनकाई-झापाली जेभी बिर्तामोडका सञ्चालक एवम् निर्माण व्यवसायी शेरबहादुर थापाले भ्याटसहित ४६ करोड २३ लाख ८२ हजार ९८३ रुपैयाँ २५ पैसामा लिएका थिए ।

पहिलो पटकको म्याद थपसहित २०८० मंसिर ३० गते सम्पन्न गर्नुपर्ने थियो । उक्त समयमा पनि नसकेपछि फेरि २०८१ माघ १० गते सक्ने गरी भ्यारिएशनसहित दोस्रो पटक ठेक्का भ्याटसहित ५१ लाख ३२ हजार ५१७ रुपैयाँ ५० पैसामा दिने सम्झौता भएको थियो ।

पूर्वाधार विकास कार्यालय झापाका सिनियर ईन्जिनियर उत्तम खरेलले बहुवर्षीय योजना अन्तरगत हालसम्म भौतिक प्रगति ६५ प्रतिशत र वित्तीय प्रगति ५९ प्रतिशत रहेको जानकारी दिए ।

उनले निर्माण व्यवसायीलाई २९ करोड ७३ लाख १६ हजार ५८ रुपैयाँ भुक्तानी भएको बताए । उनका अनुसार डीवीएसटी प्रविधिको कालोपत्रे सडक भएकाले आ.व. २०८१/८२ को विनियोजित बजेटबाट थप ९ करोड रुपैयाँ दिइएको छ । जसमा उक्त बजेटबाट ६४ लाख २१ हजार ८४ रुपैयाँ सडकमा खर्च भएको उनले जनाए ।

हालसम्म ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ, २२ किलोमिटर सव–वेस सम्पन्न, ६ किलोमिटर बेस निर्माणाधीन र ९० प्रतिशत स्ट्रक्चर कार्य सम्पन्न भएको सिनियर ईन्जिनियर खरेलको भनाई छ ।

निर्माण व्यवसायी थापाले सरकारले ठेक्का सम्झौता भए अनुसारको पूरा बजेट निकासा नगरेका कारण सडक निर्माणमा ढिलाई भएको दावी गरेका छन् ।

उनका अनुसार उक्त सडक निर्माणका लागि म्याद सकिएकाले म्याद थपको प्रक्रियामा छ । म्याद थपिएर अन्तिम पटकको बजेट आए समयमा नै काम सकिने थापाको भनाई छ ।

आज राज्यमन्त्री राजवंशी लगायतको टोली के कति काम भएको छ, म्याद बढाउन र थप बजेट विनियोजनका लागि के गर्न सकिन्छ भनेर स्थलगत निरीक्षणका लागि आएका हुन् ।

धुलाबारीदेखि इरौंटारसम्मको २५ किलोमिटर सडकको डिपिआरसहित योजना ल्याएको नगरप्रमुख एवम् झापा क्षेत्र नं. १ ‘ख’ का पूर्व प्रदेश सभा सदस्य बुढाथोकीको भनाई छ ।

२५ किलोमिटर सडक मध्ये ८ किलोमिटर सडक शान्तिनगरको भित्तामा किन ठोकाउने भनेर इलामको रोङ गाउपालिकाको इरौंटारसम्म लाने प्रस्ताव गरेको बुढाथोकीले बताए । उनले इलामलाई झापासहित मेचीनगरको बजारलाई व्यवसायिक कारोबारसँग जोड्न त्यसो गरिएको बताए ।

धुलाबारीदेखि ठुटेबरसम्म १० किलोमिटर, एक किलोमिटर मदन भण्डारी राजमार्ग जोडिएको छ, ६ किलोमिटर गौंडासम्म र ८ किलोमिटर इरौंटारसम्म सडक विस्तार गर्ने योजना रहेको छ ।

उक्त निर्माणाधीन सडक मेचीनगर नगरपालिका, बुद्वशान्ति गाँउपालका र रोङ गाँउपालिकाको क्षेत्रभित्र पर्दछ ।

सम्बन्धित खबर