२०८१ चैत ४, सोमवार , ०२:४१:०६ बजे

Sajhamanch
'

तेह्रथुम र ताप्लेजुङमा आगलागी, चारवटा चौपाया मरे

सोमवार, चैत ४, २०८१

झापा । तेह्रथुम र ताप्लेजुङमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।

आज बिहान १०ः३० बजे तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं.७ फिर्के बस्ने लोकबहादुर श्रेष्ठको गाईगोठमा खोले पकाउने क्रममा आगलागी भएको हो । चित्राको छाना ,बाँसको बारले बनेको गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।

गोठमा रहेका एउटा गाई र एउटा बाछी मरेका छन् भने दुईवटा गाई घाइते भएका छन् । बिहान ११ः२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको आगलागीबाट ४ लाख ७५ हजार बराबरको क्षति भएको छ ।

यता गएराति करिब ११ः३० बजे ताप्लेजुङ फुङलिङ– ३ साउनेपानी बस्ने प्रेमप्रसाद निरौलाको घरमा आगलागी भएको छ । ढुंगा र माटोले बनेको ,टिनको छानो भएको तीनतले कच्ची घरमा बिद्युत सर्ट भई अचानक आगलागी भएको हो ।

आगलागीबाट २ वटा बाख्राको पाठा जलेर मरेका छन् । घरमा भएको चिरान काठ, अन्नपात, भाडाबर्तन गरी करिब रु. ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगो स्थानीय र फुङलिङ नगरपालिकाको दमकलको सहयोगमा राति १२ः३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

सम्बन्धित खबर