२०८१ चैत १, शुक्रवार , ०८:२२:०१ बजे

Sajhamanch
'

‘मर्यादित सहकारी : समुन्नत समाज’ – ६८औं राष्ट्रिय सहकारी दिवसको थिम तय

शुक्रवार, चैत १, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ६८औं राष्ट्रिय सहकारी दिवसको मूल थिम ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने तय गरेको छ ।

आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले उक्त थिम सार्वजनिक गरेको हो ।

यसवर्षको थिमले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सञ्चालन गरी मुलुकको समुन्नत समाज निर्माणमा योगदान गर्नुपर्ने सन्देश दिने महासंघका अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन्।

महासंघ मुलुकभरका सहकारी संघ संस्थाहरू, सरोकारवालाहरू तथा सम्पूर्ण सहकारी अभियन्ताहरूलाई ६८औं राष्ट्रिय सहकारी दिवसमा तय गरिएको थिममा आधारित रहेर भव्य रूपमा मनाउन र वर्षभरिका क्रियाकलाप पनि सोही थिममा सञ्चालन गर्न समेत आह्वान गरेको छ ।

करिब ३२ हजार हाराहारी सहकारी संघ संस्थाहरूमा आवद्ध ७३ लाखभन्दा बढी सदस्यको विशाल नेटवर्क रहेको अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन, वित्तीय पहुँच विस्तार गर्न तथा आर्थिक समृद्धि प्रवर्धन गर्दै समुन्नत समाज निर्माणमा खेलको भूमिका उजागर गर्ने वर्षका रुपमा समेत दिवस मनाउने गरिएको छ ।

यसवर्षको राष्ट्रिय सहकारी दिवस विशेष रूपमा महत्वपूर्ण रहेको पत्रकार सम्मेलनमा जनाइएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ विश्वभर मनाइरहेको सन्दर्भमा महासंघले संघीय सरकारसँग सहकार्य गर्दै दिवसलाई भव्य र सन्देशमूलक रूपमा मनाउने योजना बनाएको बताएको हो ।

नेपालमा सहकारी अभियानको औपचारिक थालनी वि.सं. २०१३ साल चैत २० गतेदेखि भएको मानिन्छ । सोही ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गतेलाई ‘राष्ट्रिय सहकारी दिवस’ का रूपमा मनाउने परम्परा रहिआएको छ ।

सम्बन्धित खबर