२०८१ फागुन १९, सोमवार , १२:३९:३५ बजे

Sajhamanch
'

रास्वपा नेताहरुको असलियत यस्तो केन्द्रीय सदस्य थापा ठगी आरोपमा अमेरिकी हिरासतमा

सोमवार, फागुन १९, २०८१

अमेरिका । रास्वपाका केन्द्रीय सदस्य मोहनजंग थापा ठगी आरोपमा अमेरिकामा पक्राउ परेका छन् । पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया अन्तर्राष्ट्रिय एयरपोर्टमा यूएस कस्टम एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी)ले १७ फेब्रुअरी (५ फागुन)मा उनलाई पक्राउ गरेको पुष्टि भएको छ ।

मेरिल्यान्ड राज्यको बाल्टिमोर बस्दै आएका थापा १६ फेब्रुअरीमा नेपालबाट अमेरिका फर्किएका थिए । उनी फर्कंदा कतारमा आयोजित रास्वपाको कार्यक्रममा समेत सहभागी भएका थिए । ग्रिनकार्ड प्राप्त गरेर अमेरिका बस्दै आएका उनलाई सीबीपीले पक्राउ गरेर यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईस)को जिम्मा लगाएको थियो । उनलाई फिलाडेल्फिया फेडरल डिटेक्सन सेन्टरमा राखिएको छ । कानुनी प्रक्रिया पूरा गरेर अमेरिका बस्दै आएका आप्रवासी आपराधिक गतिविधिमा संलग्न भेटिएमा यस्तो सेन्टरमा राख्ने गरिन्छ ।

थापाले बाल्टिमोरमा मोटर ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका थिए । उनले गैरकानुनी रूपमा चालक अनुमतिपत्रको सिफारिस दिने गरेको, बाल्टिमोरस्थित अमेरिकी जिल्ला अदालतमा नक्कली परिचयपत्र पेस गरेको र त्यही परिचयपत्रबाट इमेल ठेगाना बनाई ठगी गरेको आरोप स्वीकार गरिसकेको अफिस अफ इन्स्पेक्टर जेनेरलले जनाएको छ ।

सो कार्यालयका अनुसार थापाले मोटर भेहिकल एडमिनिस्ट्रेसन (एमभीए)का एक कर्मचारीसँग मिलेर रकम आदानप्रदान गरी कागजातविहीन विदेशी नागरिकलाई नक्कली परिचयपत्र बिक्रीवितरण गरेका थिए । अमेरिकाबाट नेपालमा ठूलो रकम अनधिकृत रूपमा पठाउने गरेको आरोपमा समेत थापामाथि छानबिन भइरहेको छ ।

मेरिल्यान्डको अदालतमा अहिले पनि थापाविरुद्ध ‘क्रेडिट कार्ड फ्रड’ लगायत थुप्रै ठगी मुद्दा विचाराधीन छन् । ग्रिनकार्ड भए पनि उनी लामो समयदेखि परिवारसहित नेपाल बस्दै आएका थिए । ग्रिनकार्डधारी आप्रवासी ६ महिनाभन्दा बढी समय अमेरिकाबाहिर रहेर फर्किंदा अध्यागमनलाई कारण खुलाउनुपर्ने कानुनी प्रावधान छ । यस विषयमा पनि अध्यागमनका कर्मचारीले थापासँग सोधपुछ गरेका थिए ।

थापा बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)का संस्थापक अध्यक्ष हुन् । रास्वपाको स्थापना कालदेखि नै पार्टीमा सक्रिय उनी २०८० मा केन्द्रीय सदस्यबाट निलम्बनमा परेका थिए । रास्वपाले तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई आर्थिक लेनदेन आरोपमा निलम्बन गरेका बेला थापा पनि निलम्बनमा परेका थिए ।

श्रेष्ठले मन्त्री बन्न पार्टीलाई पैसा बुझाउनु परेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसासँग ३ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएका कारण रास्वपाले सांसद पदबाट पदमुक्त गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पार्टीको भागमा नपरे अर्को कुनै मन्त्रालयमा मन्त्री बनाउने आश्वासन ‘कोर टिम’ बाट पाएको श्रेष्ठले दाबी गरेका थिए । पार्टी नेतृत्वको ‘कोर टिम’ का व्यक्ति केन्द्रीय सदस्य थापा भएको श्रेष्ठको भनाइ थियो ।

श्रेष्ठ पदमुक्त भए पनि थापा भने पार्टी बैठकमा सहभागी हुँदै आएका थिए । अमेरिका जानुअघि नै थापा पार्टीबाट अलग भएको रास्वपाले दाबी गरे पनि १६ फेब्रुअरीमा कतारमा आयोजित प्रवास नेपाली सम्पर्क विभागको कार्यक्रममा सहभागी भएका थिए ।

कान्तिपुरबाट

सम्बन्धित खबर