२०८१ फागुन १५, बिहिवार , ०३:४७:०९ बजे

Sajhamanch
'

शेयर बजार ६ महिनापछि २८०० विन्दुमाथि

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि आज शेयर बजार उच्च अङ्कले बढेको छ । गएको मङ्गलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै बैंकहरूको नाफा बढ्ने गरी असल कर्जाको प्रावधान दर १ प्रतिशतमा झारेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको हो ।

आज शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १५ अङ्कले बढेर २ हजार ८१५ दशमलव ०४ विन्दुमा पुगेको छ । नेप्से आज ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको भदौ १८ गते नेप्से २ हजार ८३० विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा बैंक समूह ३ प्रतिशतभन्दा धेरै र उत्पादन समूह झन्डै ३ प्रतिशतले उकालो लागेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, अपर हेवा खोला जलविद्युत्, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको मङ्गलवार ९ अर्ब ९० करोडको शेयर कारोबार भएकोमा आज ३०० वटा कम्पनीका २ करोड ६१ लाख कित्ता शेयर ११ अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सम्बन्धित खबर