![](https://sajhamanch.com/wp-content/uploads/2025/02/Vday-for-blog.jpg)
भ्यालेन्टाइन डे । अर्थात प्रेम दिवस । प्रेम भनेको एउटा यस्तो भावना हो, जुन मानिसले अरुप्रति महसुस गर्छ । प्रेममा यति शक्ति, तागत हुन्छ कि, यदि कसैले कसैको साँचो प्रेम, माया पाउँछ भने उसले संसारलाई बदल्न सक्छ । असम्भवलाई सम्भव बनाउन सक्छ । पहाडलाई फोरेर सम्म मैदान बनाउन सक्छ ।
पहाडलाई फोरेको भनिरहँदा माझी द माउन्टेन मेन फिल्मको सम्झना आउँछ । तपाईं धेरैजनाले सो फिल्म हेर्नु पनि भएको होला । फिल्म सत्य घटनामा आधारित हो । फिल्म भारतको बिहार राज्यको गया जिल्लामा बसोबास गर्ने दशरथ माझीको वास्तविक जीवन गाथामा आधारित छ । जसले २२ वर्षसम्म लगातार परिश्रम गरेर पहाड फोरेर बाटो बनाएका थिए ।
सन् १९६० तिर उनकी पत्नी फागुनी देवीलाई स्वास्थ्य समस्याका कारण हस्पिटल लैजानु पर्ने अवस्था आउँछ । तर पहाडको कारण बाटो नभएर पत्नीलाई समयमै हस्पिटल पुर्याउन नसक्दा फागुनी देवीको मृत्यु हुन्छ । यो घटनाले दशरथ माझीलाई गहिरो धक्का दिन्छ । त्यसपछि उनी एक्लैले २२ वर्षसम्म पहाड फोरेर बाटो निमार्ण गर्छन् ।
दशरथको प्रेम, साहास, आँट, हिम्मत र विश्वासलाई मान्नै पर्छ । बाटो नभएकै कारण आफूले औधी प्रेम गरेकी श्रीमतीलाई गुमाउन पुगेका थिए । श्रीमती गुमाउँदाको पीडालाई शक्तिमा बदली असम्भवलाई सम्भव बनाउने कार्य गर्दछन् । उनको प्रेम र दृढ इच्छाशक्तिले गाउँका हजारौं मानिसहरुको जीवन सहज बनाई दिएको हुन्छ ।
पुरुषले महिलालाई गर्ने अनि महिलाले पुरुषलाई गर्ने माया मात्रै प्रेम होइन । त्यहाँ मात्रै प्रेम हुन्छ, शक्ति हुन्छ भन्ने होइन । हेलेन केलर र एनी सुलिभानको कथा । हेलेन केलर जसले दृष्टि र श्रवणशक्ति गुमाएकी थिइन् । तर उनकी शिक्षिका एनी सुलिभानको अघात प्रेम र धैर्यले उनलाई शिक्षित र विश्व प्रसिद्ध वक्ता बनाउन सफल बनाएको इतिहास साक्षी छ ।
हेलेन र एनीको कथा लाखौं मानिसहरुको पे्ररणा प्रदान गर्ने उदाहरण हो । उनीहरुको प्रेम र समर्पणले देखाउँछ कि, यदि तपाईको साथमा प्रेम र दृढता छ भने संसारमा केही पनि चुनौति र असम्भव छैनन् ।
यी त केही घटना मात्रै हुन् । प्रेमले संसार बदलेका छन् । यस्ता धेरै सत्य कथाहरु छन् । जसले प्रेमको विभिन्न रुप र त्यागलाई देखाउँछन् । कतिका फिल्म बने होलान्, कतिका बनेनन् होला । कतिका लेख बने होलान् कतिका बनेन होलान् । प्रेम मात्रै व्यक्तिमा नभएर परिवार र समाजप्रतिको सम्मान र समर्पण पनि हो ।
प्रेम केबल रोमान्टिक सम्बन्धसम्म सीमित छैन । यो त्याग, समर्पण, विश्वास र मानवताको प्रतिक हो, जसले व्यक्तिगत जीवनदेखि विश्वव्यापी परिवर्तन ल्याउन सक्छ ।
भ्यालेन्टाइन डे प्रत्येक वर्ष फेबु्रअरी १४ मा मनाइन्छ । यो दिन पे्रम र स्नेह प्रकट गर्ने दिनको रुपमा मनाइन्छ र विशेष गरेर पे्रमी पे्रमीकाहरु, दम्पतीहरु र आफन्तहरु एक अर्कासँग माया र सम्मान व्यक्त गर्न यो पर्वको उपयोग गर्छन् ।
प्रेम दिवस आधुनिक समयमा एक महत्वपूर्ण पर्व नै बनेको छ भन्दा फरक नपर्ला । यसको लोकप्रियता विश्वभर दिन प्रतिदिन बढ्दै गएको छ । यो अब मात्रै पश्चिमा मुलुकहरुको पर्व मात्र नभएर नेपाल, भारत, चीन, जापान र अन्य दक्षिण एशियाली मुलुकहरुमा पनि व्यापक रुपमा मनाउन थालिएको छ ।
प्रेम दिवसले मानिसहरुमा माया र स्नेह प्रकट गर्न प्रेरित गर्दछ । सम्बन्धमा आत्मीयता र सकरात्मकता बढाउँछ । प्रेम र समझदारी महत्वलाई जागरुक गराउँछ । यसको माध्यमबाट मानिसहरु जीवनका साना र ठूला सम्बन्धहरुको कदर गर्न सिक्दछन् ।
प्रेम दिवस अर्थात आजको यो दिन आजैको लागि मात्रै हो अनि युवाहरुका लागि मात्र हो भन्ने कतिपयको बुझाई छ । तर आजको दिन मात्र होइन, माया गर्नेहरुका लागि प्रत्येक दिन प्रेम दिवस हुन सक्नुपर्दछ ।
प्रेममा कुनै पनि स्वार्थ र शर्त हुनु हुँदैन । प्रेम केटा र केटी बीचमा मात्रै हुनुपर्छ भन्ने पनि होइन । आफूलाई, परिवारका हरेक सदस्यलाई, साथीभाइलाई अनि समाजलाई साँचो माया गर्नसक्नु नै प्रेम हो । सबैले सबैलाई माया बाँढियोस् । प्रेम गर्न आजको दिन मात्रै कुर्न नपरोस्, पे्रमी अनि प्रेमिकालाई मात्रै होइन पृथ्वीका सबै प्राणीलाई सधैंभरि सबैले प्रेम बाँड्न सकियोस् ।
प्रस्तुति : सञ्जु सिवाकोटी