२०८१ माघ ९, बुधवार , ०७:५५:११ बजे

Sajhamanch
'

बिर्तामोड महोत्सवमा राखियो ताप्लेजुङदेखि जुम्लासम्मका अग्यार्निक उत्पादनहरु

बुधवार, माघ ९, २०८१

झापा । जुम्लाकी गंगादेवी राउत यतिबेला आफ्नै खेतीमा उत्पादित अग्यार्निक खाद्य सामग्री लिएर बिर्तामोड आइपुगेकी छिन् ।

आफ्नै उपार्जन र जिल्लाबासीले उत्पादन गरेका कोदो, फापर, मकै, जौं, गहुँको पिठो र मार्सी धानको चामल लिएर उनी बिर्तामोड अन्तराष्ट्रिय व्यापार महोत्सवको स्टलमा बसेकी छिन् । त्यस बाहेक जडिबुटीको चिया, जिम्मु र दाँते ओखर पनि उनको स्टलमा राखिएको छ ।

पोखराकी संगीता गुरुङले रुकुम र डोल्पाको सिमा क्षेत्रबाट भीर महुरीको मह ल्याएकी छिन् । उनको स्टलमा औषधीय गुण भएको मह र लेकाली भेडाको ध्यू उपलब्ध छ ।

ताप्लेजुङस्थित फुङ्लिनकी माया गुरुङले अलैंचीको रेसाबाट निर्मित हस्तकलाका आकर्षक सामग्रीले स्टल सजाएकी छिन् ।

उनले यो सीप विकासका लागि परामर्शसमेत प्रदान गर्ने बताइन् । आफू र आफूजस्तै महिलाहरुको आर्थिक क्षमता अभिवृद्धिका लागि विगत लामो समययता गुरुङले यो व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।

अग्यार्निक कपुरधुप उत्पादन र प्रशिक्षण सञ्चालन गर्दै आएकी झापाकी खेमकुमारी ओली आफ्नो उत्पादन र परामर्शसहित महोत्सवको स्टलमा पुगेकी छिन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पाइने वस्तु र सेवाहरुको एकैथलोबाट अवलोकन र बिक्री वितरणका लागि सञ्चालन गरिएको यो महोत्सवमा पूर्वी नेपालमा उत्पादित चिया, अलैँची, मसला र जडीबुटीहरु पनि व्यवसायीहरुले सजाएका छन् ।

मेचीनगरमा रहेको एड्भान्स मल्टी प्रोडक्सन कम्पनी प्रालिले अग्यार्निक सामग्रीको प्रयोगमा जोड दिँदै सुपारीका पातबाट बनाइएका घरायसी सामग्री बिक्रीका लागि राखेको छ ।

यो महोत्सवले सिङ्गो नेपालसहित छिमेकी मुलुकहरु भारत, बंगालादेश, पाकिस्तानका व्यवसायीलाई एकै थलोमा जोडेको छ । अघिल्ला महोत्सवमा जस्तै यसपटक पनि उपभोक्ताको उल्लेख्य उपस्थिति रहने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

झापाकै जिना बस्नेत १२ वटा फरक फरक अचारका प्याकेजिङ लिएर स्टल पुगेकी छिन् । उनको स्टलमा हस्तकलाका माला, कुसन र गुडिया (डल) भेटिन्छन् । च्याउको सुकुटीपनि उनले राखेकी छिन् ।

सहारा सतासी महिला माहुरी उद्योगले पनि आफ्नो उत्पादनलाई बिक्री स्टलमा राखेको छ । स्वरोजगारमुलक उद्योगका सञ्चालकलाई विशेष सहुलियतमा महोत्सवमा स्टल उपलब्ध गराइएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार पाकिस्तानी लेदर, भारतीय किचन आइटम, बंगलादेशी गार्मेन्टका उत्पादन पनि महोत्सवमा राखिएका छन् ।

वाणिज्य संघ अन्तरगत कै महिला उद्यमी समूहले अग्यार्निक खाजाका रुपमा सेलरोटी र तरकारी सहुलियत दरमा उपलब्ध गराउँदै आएको समूहका अध्यक्ष राधिका चुडाल हुमागाईंले जनाएकी छिन् । महोत्सव स्थलमा अन्य होटलहरु समेत सञ्चालनमा छन् ।

अवलोकनकर्ता र बालबालिकाका लागि खेलकुदका सामग्री साथै प्रसिद्ध कलाकारहरुको साङ्गीतिक प्रस्तुति प्रत्येक साँझ रहने महोत्सवका संयोजक विशाल थापाले बताए ।

सम्बन्धित खबर