२०८१ माघ १०, बिहिवार , ११:३७:०२ बजे

Sajhamanch
'

भूकम्प र मनसुनजन्य विपद्मा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अभियान घोषणा गर्दै सरकार

सोमवार, पौष २२, २०८१

काठमाडौं । सरकारले भूकम्प र मनसुनजन्य विपद्बाट भएका क्षतिग्रस्त संरचनाको पुनर्निर्माण यसै वर्षदेखि सुरु गर्ने तयारी गरेको छ । माघ २ गते मनाइने राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर पुनर्निर्माण अभियान घोषणा गर्ने सरकारको तयारी छ ।

सडक पुल तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत्, वैकल्पिक ऊर्जा र सिंचाइ, निजी आवास, खानेपानीलगायत क्षेत्रको पुनर्निर्माण तथा प्रवलीकरण गर्न ९८ अर्ब ६५ करोड २९ हजार ६८ लागत लाग्ने अनुमान छ ।

यो लागत अनुमानसहित पुनर्निर्माणको प्रस्तावित कार्ययोजनाबारे सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५ औं बैठकमा प्रस्तुत भएको थियो ।

परिषद्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी माघ २ गते हुने भूकम्प सुरक्षा दिवसको कार्यक्रममा पुनर्निर्माणबारे घोषणा गर्ने भन्दै त्यसको ठोस योजना मागेका थिए । साथै क्षतिको विस्तृत लेखाजोखा गर्न बाँकी भए त्यो पनि सम्बन्धित मन्त्रालयबाट गराइहाल्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।

पश्चिम नेपालमा गएका भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनर्निर्माणका लागि ठोस योजना ल्याउन परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

पुस २८ गते फेरि बस्ने परिषद्को बैठकमा योजनाबारे छलफल गरी निर्णय गर्ने र माघ २ गते पुनर्निर्माण अभियान घोषणा गर्ने सरकारको तयारी छ ।

डोटी, बाजुरा, बझाङ, जाजरकोट लगायतका स्थानमा गएका भूकम्पमा भएको क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा प्रबलीकरणको काम सम्पन्न भएको छैन ।

त्यसैले अधिकांश पीडितहरुले वर्षा, घाम र जाडो अस्थायी टहरामा बिताइरहेका छन् । बाढीपहिरोमा घरबार विहीन भएकाहरुको अवस्था पनि त्यस्तै छ ।

गृहमन्त्री रमेश लेखक पुनर्निर्माणको काम छिटो सम्पन्न गर्ने गरी सरकारले तयारी गरिरहेको बताउँछन् । ‘मनसुनजन्य विपद् र भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनामध्ये अधिकांश पुनर्निर्माण भएका छन् । बाँकी पुनर्निर्माणका काम पनि यथाशक्य छिटो सक्ने गरी सरकारले तयारी गरेको छ ।’

क्षति मूल्यांकन भइसकेका ठाउँमा पुनर्निर्माण गर्न आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भइसकेको भन्दै मन्त्री लेखकले आगामी माघ तेस्रो सातादेखि जाजरकोट भूकम्पबाट भएको क्षतिको मूल्यांकन सुरु गर्ने बताए ।

सम्बन्धित खबर