झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) कोशी प्रदेशको आइतबार साँझ बिर्तामोडमा सम्पन्न आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
क्यान महासंघ कोशीका अध्यक्ष रोशन दाहालको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय सचिव एवम् अधिवेशन सम्पन्न गर्नका लागि तोकिएका केन्द्रीय प्रतिनिधि भुपेन्द्र मैनालीको प्रमुख आतिथ्यमा साधारणसभा सञ्चालन गरिएको थियो ।
सो सभामा क्यान महासंघका अर्का केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठ र क्यान महासंघका पूर्व केन्द्रीय सदस्य दिपेश पाठकले मन्तब्य राखेका थिए । सो कार्यक्रममा क्यान महासंघ झापाका नवनिर्वाचित अध्यक्ष शुभ कुमाई पाठक लगायतको आतिथ्य रहेको थियो ।
क्यान कोशीका सचिव यज्ञराज दाहाल (नवराज)को सञ्चालनमा भएको साधारण सभामा क्यान महासंघ कोशीका अध्यक्ष रोशन दाहालले अहिले गरिरहेको काम र आगामी दिनका लागि तय गरिएको कार्ययोजना प्रस्तुत गरेका थिए । क्यानमा सदस्यता वृद्धि गरी यसको फराकिलो चिनारी दिनुपर्ने औंल्याउँदै प्रतिवेदनमा क्यान महासंघको सदस्यता रहेको पोर्टललाई व्यवस्थित गर्न केन्द्रीय समितिलाई सुझाव पनि दिइएको छ ।
साधारण सभा पछिको चौथो अधिवेशनले विभिन्न जिल्लाको प्रतिनिधित्व रहने गरी नयाँ नेतृत्व चयन गरेको छ । जसअनुसार क्यान महासंघ कोशीको अध्यक्षमा सुनसरीका सन्देश राई निर्विरोध निर्वाचित भएका छन् । उनी क्यान महासंघ सुनसरीको निवर्तमान अध्यक्ष हुन् ।
यसैगरी उपाध्यक्षमा ताप्लेजुङ जिल्लाका पूर्व अध्यक्ष बिष्णुकुमार लिम्बू र सचिवमा क्यान झापाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद घिमिरे पनि निर्विरोध चयन भएका छन् ।
चौथो अधिवेशनले क्यान महासंघ कोशीको सहसचिवमा भोजपुरका अर्जुन राई र कोषाध्यक्षमा उदयपुरका केशव आचार्यलाई सर्वसम्मत चयन गरेको छ । दुई जना सदस्यलाई कार्यसमितिले मनोनयन गर्न सक्ने जनाइएको छ ।