बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत ३० जना कर्मचारीहरुलाई कम्प्युटर सम्बन्धी दुई दिवसीय आधारभूत हार्डवेयर तथा नेटवर्किङ्ग तालिम प्रदान गरिएको छ ।
संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा मंसिर २० र २१ गते बिर्तामोड सेवा केन्द्रको सेमिनार हलमा तालिम सञ्चालन गरिएको हो ।
तालिममा सहकारी पसल, एग्रो फार्म, डेरी उद्योग र चिया उद्योगबाट ३० जना प्राविधिक कर्मचारीहरुको सहभागिता रहेको कर्पोरेट सामुदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले जानकारी दिए ।
शिक्षा तथा तालिम उपसमितिका संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त तालिममा संस्थाका कर्मचारीहरुलाई कार्यालयमा सञ्चालनमा रहेका कम्प्युटर लगायत नेटवर्क सम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो । संस्था अन्तरगतको आइटी विभागको सहकार्यमा दैनिक प्रशासनिक कार्यजीवनमा आइपर्ने समस्याको बारेमा मसिनो ढंगले जानकारी गराइएको थियो ।
काम गर्नेक्रममा आइपर्ने साना मसिना समस्या समाधान गर्न निक्कै टाढा धाउनु पर्ने झन्झटबाट कर्मचारीहरु मुक्त होउन् भनेर तालिम आयोजना गरिएको संयोजक बस्नेतले बताए ।
उक्त तालिममा प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराइएको थियो भने तालिमको सहजीकरण कर्पोरेट आइटी विभाग प्रमुख लीलाराज कुवँर, कर्पोरेट आइटी सहायक नवीन भण्डारी र एटीएम विभाग प्रमुख गोपीकृष्ण सुवेदीले गरेका थिए ।
तालिममा सहभागीहरुलाई एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले विशेष मन्तब्यसहित सहकारीमा प्रविधिको उपयोग गर्दा सदस्यहरुले कस्तो सुविधा पाइरहेका छन् र प्राविधिक कर्मचारीहरुले संस्थामा कसरी सेवा प्रवाह गर्नुपर्छ भनी भनाई राखेका थिए ।