काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । आज भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो ।
चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले अन्तिम बल बाँकी छँदा ४ विकेट गुमाएर भेटायो । कर्णालीका शिखर धवनले ४५, चादविक वाल्टनलले ३० रन बनाए । चितवनका कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी एटन र रवि बोपाराले १/१ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनायो । चितवनका रवि बोपाराले ५९ रन बनाए । कर्णालीका विपिन शर्माले ३, जीशान मक्सूदले २ विकेट लिए ।
प्रतियोगितामा कर्णालीको यो पहिलो जीत हो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाण्डौ गुर्खाजसँग पराजित भएको थियो ।
चितवनले भने पहिलो हार बेहोरेको छ । चितवनले पहिलो खेलमा काठमाण्डौ गुर्खाजलाई र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो ।
एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।