झापा । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले सहकारीमा गलत कारोबार गर्ने र बद्नाम गराएर हिंड्ने जोसुकैलाई सरकारले कारबाही गरेरै छाड्ने बताएका छन् ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको ३२औँ वार्षिक साधारण सभा अन्तरगत शनिबार बिर्तामोडमा आयोजित माइन्युट प्रमाणित सभाका प्रमुख अतिथि मन्त्री मगरले यस्तो बताएका हुन् ।
‘अहिले सहकारीका विषयमा जताततै नकारात्मक चर्चा हुने गरेको’ सुनाउँदै आर्थिक मामिला तथा योजना मन्त्री मगरले भने– ‘गलत कारोबार गर्नेले सहकारी डुबाए । ऋण तिर्नु पर्दैन भन्नेहरुले सहकारीको बद्नाम गरे ।’
तर सहकारीको रकममा गलत व्यवहार गर्नेहरु, ठगी गर्नेहरु र यसका विरुद्ध अनर्गल प्रचार गर्नेहरु अब उम्किन पाउँदैनन् । मन्त्री मगरको उद्घोष छ, ‘देशभरमा सयौं पक्राउ परिसकेका छन्, बाँकी रहेकाहरुले पनि पक्राउका लागि तयारी बस्दा हुन्छ ।’
झापाका केही सहकारी संस्थाको कारोबार अंक देशमै सबैभन्दा धेरै भएकाले यहाँको सहकारी संस्थाप्रति धेरैको नजर परिरहेको हुन्छ भन्दै मन्त्री मगरले ठट्यौलो पारामा भने ‘सहारा नेपालको १६ अर्बभन्दा बढी र एनएमसीको १४ अर्ब बढीको वासलात जोड्दा चालू वर्षका लागि कोशी प्रदेश सरकारको बजेट नै कम नै हुँदोरहेछ ।’
बहुव्यवसाय गरिरहेको एनएमसीको प्रशंसा गर्दै मन्त्री मगरले भने, उद्देश्यअनुसार सञ्चालित कोशी प्रदेशका थोरै सहकारीहरुमध्ये एनएमसी अब्बल छ । सहकारीको माध्यमबाट पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण आफ्ना विभिन्न ब्यवसायमा ११ सय बढीलाई रोजगारी दिएकोबाट यो संस्थाले पुष्टि गरेको उनको भनाई छ ।
एनएमसीलाई विभिन्न परियोजना सञ्चालन गर्न प्रदेश सरकारबाट पनि बेलाबखत अनुदान सहयोग प्रदान भइरहेको स्मरण गर्दै मन्त्री मगरले पहाडी जिल्लामा उत्पादन भएका कृषिउपजको बजारीकरणमा समस्या भइरहेकाले एनएमसी सहकारी पसलमार्फत सहजीकरण गरिदिन उनले आग्रह गरेका छन् ।
पुरस्कृत एवम् सम्मानित कर्मचारीहरुलाई बधाई दिँदै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री मगरले सबै लिङ्ग, समुदाय, उमेर समूह समेटेकोमा औधी खुसी लागेको बताए ।
माइन्युट प्रमाणित सभामा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले सञ्चालक समितिको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहालले लेखा समितिको प्रतिवेदनका मुख्य मुख्य बुँदाहरु वाचन गरेर सुनाएका थिए । समारोहमा झापा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्काले विशेष मन्तब्य राखेकी थिइन् ।
समारोहमा सहारा नेपाल साकोस लिमिटेडका कार्यकारी प्रमुख तथा राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिका सदस्य महेन्द्रकुमार गिरीले एनएमसीको बहुआयामिक पक्षको प्रशंसा गरे । सदस्य संख्या, दृढ संकल्पित सञ्चालकहरु, १४ अर्ब बढीको वासलात अनि व्यवस्थापनमा उच्च नैतिकवान टिम नै एनएमसी सफलताको जग भएको उनको भनाई थियो ।
‘एकातिर झापाका एनएमसी र सहारा नेपाललाई देखाएर नेपाली सहकारी अभियन्ताहरु सफलताको भाषण गरिरहेका छन् भने सहकारीका कार्यक्रममा आमन्त्रण गर्दा कतिपय मानिसहरु आउन झस्कने गरेको र उनीहरुमा सहकारीप्रति एलर्जी नै रहेको पनि प्रतित हुने गरेको छ’ सहारा नेपालका कार्यकारी प्रमुख गिरीको टिप्पणी छ ।
‘सञ्चालक र कर्मचारीहरुले गलत मनसायले संस्थाबाट रकम अपचलन नगरेकै कारण आजसम्म यी दुईटै संस्थाहरु सबल भएका हुन्’ राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिका सदस्य तथा कोशी प्रदेशका संयोजक गिरीले थपे, ‘व्यक्तिगत फाइदामा लागेर धेरै सहकारीहरु असफल भएको पनि हामीले देखिरहेका छौं ।’
सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीहरु पुरस्कृत
एनएमसीले ३२औँ वार्षिक साधारण सभा अन्तरगत शनिबार बिर्तामोडमा आयोजित माइन्युट प्रमाणित सभामा आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा वर्ष सर्वोत्कृष्ट कर्मचारी र उत्कृष्ट हुने कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।
सोही अनुसार आर्थिक वर्ष २०७९/०८० मा एनएमसी डेरी उद्योगका नवराज अधिकारीले र आर्थिक वर्ष २०८०/०८१ मा कर्पोरेट कार्यालयका अधिकृत राकेश हरिजनले सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरे । उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा डेरी व्यवसाय तर्फको उत्कृष्ट कर्मचारीका रुपमा पनि नवराज अधिकारी पुरस्कृत भए । यस्तै, व्यवसायगत वर्ष उत्कृष्ट कर्मचारीमा सहकारी पसलका अनुपमा आचार्य र बचत तथा ऋण व्यवसायतर्फ सुनिता दाहाल पुरस्कृत भएका थिए ।
यसैगरी सेवा केन्द्र प्रमुखतर्फ रीता श्रेष्ठ र सुवास खतिवडा तथा उत्कृष्ट सदस्य सहजकर्तातर्फ देविका दंगाल पुरस्कृत भए ।
आर्थिक वर्ष २०८०/०८१ मा व्यावसायगत उत्कृष्ट कर्मचारीमा डेरी उद्योगका मेघनाथ न्यौपाने, डेरी व्यवसायका सोनम शेर्पा र बचत तथा ऋण व्यवसायका नविना चापागाई पुरस्कृत भए ।
यस्तै व्यावसायिक इकाई प्रमुखतर्फ सहकारी पसलका बसन ठकुरी र बचत तथा ऋण व्यवसायका कुष्पना खरेल र सदस्य सहजकर्ता रीता भट्टराई पुरस्कृत भएका थिए । सबै पुरस्कारको राशी जनही १५ हजार रुपैयाँ रहेको छ ।
दीर्घसेवी तिम्सिना ‘१० ग्राम सुनको सिक्का’बाट विभुषित
एनएमसी झापामा २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी गंगाप्रसाद तिम्सिनालाई दीर्घसेवा सम्मान स्वारुप १० ग्रामको सुनको सिक्का प्रदान गरिएको छ ।
संस्थाको ३२औँ वार्षिक साधारण सभा अन्तरगत शनिबार आयोजित माइन्युट प्रमाणित सभामा सुरुङ्गा सेवा केन्द्रमा कार्यरत सहायक अधिकृत तिम्सिनालाई कर्मचारी पुरस्कार कार्यविधि अनुसार १० ग्रामको सुनको सिक्का प्रदान गरिएको हो ।
१० वर्ष कार्यवधि पूरा गरेका २३ जनालाई ‘चाँदीको सिक्का’सहित सम्मान
माइन्युट प्रमाणिकरण साधारणसभामा एनएमसीले १० वर्ष सेवा अवधि पूरा गरेका विभिन्न तहका आफ्ना २३ जना कर्मचारीहरुलाई दीर्घसेवा सम्मान स्वरुप ५० ग्रामको चाँदीको सिक्कासहित सम्मान गरेको छ ।
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा सो संख्याका कर्मचारीहरु दीर्घसेवी भएकाले कर्मचारी प्रोत्साहन नीति बमोजिम सम्मान स्वरुप ५० ग्रामको चाँदीको सिक्का प्रदान गरिएको हो ।
२०८०/८१ सालको दीर्घसेवा सम्मान प्राप्त गर्नेहरुमा बचत तथा ऋणतर्फका वरिष्ठ अधिकृत होमनाथ मैनाली, अधिकृत रोहितकुमार गणेश, डेरी व्यवसायबाट कार्यालय सहायक दोस्रो शेखर पौडेल, कार्यालय सहायक दोस्रो कृष्णकुमारी नेपाली, सदस्य सहजकर्ताहरु शान्ता थापा, रुद्रप्रसाद ढकाल (रमेश), सितादेवी भुर्तेल र हिमा प्रधान तथा कार्यालय सहयोगी प्रथम टिकामाया ढकाल रहेका छन् ।
यसैगरी २०७९/८० सालको दीर्घसेवा सम्मानबाट सम्मानित हुनेहरुमा बचत तथा ऋणतर्फका अधिकृतत्रय कुस्पना खरेल, संगीता तामाङ र सुशिला शिवाकोटी, सहायक अधिकृत गिताञ्जली पौडेल, वरिष्ठ सहायक प्रथम झलनाथ भट्टराई, सदस्य सहजकर्ताहरु जानुका नेपाल सापकोटा, लोकप्रसाद चापागाई, मनकुमारी अधिकारी, राधा डाँगी, सोमी हेमरम, यशोदा गिरी र वेणुप्रसाद अधिकारी, सफाई सहयोगी प्रथम रुवा राजवंशी र सफाई सहयोगी दोस्रो ममता मल्लिक रहेका छन् ।
उनीहरुलाई उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि मन्त्री मगर, एनएमसीका अध्यक्ष शिवाकोटी, संस्थापक अध्यक्ष उप्रेती लगायतले हस्तान्तरण गरेका थिए । सम्मानितहरुलाई प्रदान गरिएको सम्मानपत्रको वाचन संस्थाका सचिव विकाशप्रसाद उप्रेतीले गरेका थिए ।
संस्थाको ३२औं वार्षिक साधारणसभा ५७ वटा सेवा केन्द्रमा उपएकाइगत तहमा सञ्चालन गर्दा ८८ हजार १०१ जनाको प्रत्यक्ष सहभागिता रहेको जनाइएको छ । ती ५७ वटा उपएकाइगत सभाबाट सेयर सदस्यले उठाएका संस्थाको प्रवर्धनका लागि दिइएका ७९ वटा सुझाबहरु सहसचिव अम्बिकाप्रसाद ढकालले माइन्युट प्रमाणित सभामा वाचन गरेका थिए ।
ती सुझाव एवम् जिज्ञासाहरु माथि अध्यक्ष सिवाकोटी र संस्थापक अध्यक्ष उप्रेतीले प्रष्ट पार्दै कार्यान्वयन गर्न सकिनेहरुलाई चालू वर्षबाटै थालनी गर्ने, कतिपय सुझावहरु रणनीतिक योजनामा समावेश गर्ने एवम् कतिपय सुझावहरु आगामी वर्षका लागि कार्यक्रममा समावेश गर्ने वचन दिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको सो माइन्युट प्रमाणीकरण सभामा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई वरिष्ठ उपाध्यक्ष भगवति घिमिरे मैनालीले शाब्दिक स्वागत गरेकी थिइन् ।