२०८१ मंसिर १५, शनिवार , १०:४१:२६ बजे

Sajhamanch
'

‘भद्रपुरको प्रतिविम्ब’मा देखाइएको भद्रपुर

शनिवार, मंसिर १५, २०८१
  •  द्रोण अधिकारी गुहेली

प्रविधि भित्र खोज अनुसन्धानमा रमाउने लेखक खेमराज दाहालले झापा जिल्लाको सदरमुकाम भद्रपुर भित्रका महत्वपूर्ण जानकारी समेटेर पुस्तक प्रकाशन गरेका छन् । लेखक दाहालले तेस्रो कृतिका रूपमा ‘भद्रपुरको प्रतिबिम्ब’ प्रकाशित गरी पाठकको हातहातमा पुर्याउने प्रयास गरेका हुन् ।

तथ्याङ्कमा भद्रपुर नगरपालिका, झापा जिल्ला र देशभित्रका महत्वपूर्ण क्षेत्र समेटेर उल्लेख्य विषयवस्तुका साथ तयार भएको पुस्तकले सत्यलाई तथ्यमा जोड्ने प्रयास गरेको देखिन्छ । नेपालको सुदुर पूर्वको दक्षिणी कोणमा रहेको नेपालकै प्राचीन शहर भद्रपुरको उत्खनन् प्रयासमा देखिएको यस पुस्तकले इतिहासदेखि वर्तमानसम्म जोड्ने काम गरेको छ भन्दा अत्युक्ति नहोला ।

भद्रपुरका १० वटै वडालाई तथ्याङ्कमा समेटेको पुस्तकले जनप्रतिनिधि, भौगोलिक अवस्था, पेशा व्यवसायको अवस्था, उद्योग तथा व्यपार, शैक्षिक क्षेत्र, स्वास्थ्य संस्था, सामाजिक संघ संस्था, पर्यटकीय क्षेत्र, जल जमीन र जंगलको अवस्था, साहित्य कलाको पहिचान, राष्ट्रिय, क्षेत्रीय र स्थानीय क्षेत्रका लागि योगदान दिने उल्लेख्य व्यक्तित्वको परिचय र नगरपालिकाको महत्वका विषयलाई शसक्त रूपमा विशेष ज्ञानसहित जानकारी दिएको छ । लेखक उत्तरी झापामा जन्मिए हुर्किए पनि छायाँमा परेको दक्षिणको शहर भद्रपुरलाई उज्यालो यात्रामा लैजान पुस्तकारबाट सफल देखिन्छन् ।

हेर्दा सामान्य आकारको जस्तो आकृतिमा देखिने पुस्तकले झापा सदरमुकाम भद्रपुरलाई सचित्र चिनाउने प्रयास गरेको छ । लेखकका शब्दलाई सापटी लिएर भन्ने हो भने पुस्तक तथ्यमा आधारित इतिहासदेखि वर्तमानसम्म सत्य दस्तावेज हो । शब्द र चित्रको मिश्रणबाट नवीन शैलीमा निर्मित पुस्तकले भद्रपुरलाई जीवन्त राख्ने प्रयाससमेत गरेको छ । पुस्तक भित्र पसेपछि पाठकले अल्छी नलाग्दै पढिसक्न पाउने छन् किनकी शब्दहरू तथ्यमा आधारित छन् ।

नगरपालिकाको स्थापना कालदेखि अहिलेसम्मका जनप्रतिनिधि तथा नेतृत्वकर्ता, सम्बद्ध उल्लेख्य व्यक्तित्व, चर्चित तथा पर्यटकीय गन्तव्य स्थानको पर्याप्त जानकारी समेटिएको छ । १०७ वर्षअघि (वि. सं. १९७४)सम्म ‘धुपगाछी’ नामले चिनिने बेलादेखि आजको अवस्थासम्मको भद्रपुरको इतिहास सो पुस्तकमा पढेर जान्न पाइन्छ । यसका साथै पुस्तकमा भद्रपुरलाई जीवन्त देख्न सकिन्छ ।

पुस्तकमा भद्रपुर बाहिरका अत्यावश्यक जानकारीहरू समेत समाविष्ट छन् । अहिलेसम्म यहाँका रैथानेबासीले समेत नदेखेको वा वास्ता नगरेको विषयलाई पुस्तकमा संग्रहित गरिनु आफैंमा उल्लेख्य कार्य मान्नु पर्छ । बसाइँ सराईका कारण भद्रपुरमा पछिल्लो समय बाहिरी भूगोलबाट आउने मानिसहरुको संख्या बढिरहेको परिदृष्यमा यहाँ रहेको मौलिक परिचय हराउने हो कि भन्ने चिन्तालाई केही हदसम्म रोक्नका लागि यो पुस्तक औषधी हुने विश्वास गर्न सकिन्छ ।

सामाजिक सञ्जालको बढ्दो प्रभाव, किशोर, युवा र वयस्कहरूका लागि सहज ग्राह्य भएका कारण पनि र यसले सबै उमेर समूहका लागि आ–आफ्नै किसिमले ‘फेसन’–को आकर्षक रूप लिँदै गएका कारण ‘पुस्तक पढ्ने चलन’ क्रमिकरूपमा घट्तै गइरहेको छ । पुस्तक पढ्नेको संख्या घट्तो अवस्थामा छ । त्यसैले अक्षर–खेतीमा मनोवैज्ञानिक खडेरी पर्दै गइरहेको छ । त्यही पनि लेखकहरू आफ्ना कृति ऐतिहासिक, जीवनोपयोगी, सरस र आकर्षक बनाउन तल्लिन रहनु चाहिँ एउटा आशाको खेती मान्नु पर्दछ ।

यो पुस्तकले भद्रपुरको नेतृत्व गरेका कुनै पनि जनप्रतिनिधिको जानकारी गराउन सहयोग गर्ने छ । घुम्न, हेर्न वा डुल्न जाने पर्यटकीय स्थलको सूचि छनौटमा यो पुस्तक महत्वपूर्ण सामग्री बन्ने देखिन्छ । भद्रपुरको नामाकरणदेखि पहिचान र व्यापारिक इतिहाससमेत खोतलेको पुस्तकले विगत र वर्तमानमा भद्रपुर तुलना गर्न सक्ने आधारसमेत छोडेको छ ।

विभिन्न २२ वटा शीर्षकमा तयार भएको पुस्तकले तथ्यलाई जोड दिएको देखिन्छ । समग्र भद्रपुरको पहिचान समेट्न नसके पनि अधिक पहिचान समेट्ने प्रयास भने पुस्तकका विषयवस्तुले गरेको पाइन्छ । राजनीतिक, धार्मिक, भौगोलिक, शैक्षिक, सामाजिक, औद्योगिक, व्यपारिक र वातावरणीय क्षेत्र र अवस्थाको पहिचान दिलाउने प्रयास गरेको पुस्तकले विगत र वर्तमान जोड्न सफल देखिन्छ ।

लेखक दाहाल कम्प्युटर प्राविधिक रहेकै कारण हुनसक्छ पुस्तक छोटो, छरितो र सरल भाषा शैलीमा तयार भएको छ । विद्यालय तहका बालबालिकादेखि सरकारी जागिर खान चाहने युवा युवतीसम्मलाई अति आवश्यक हुनसक्ने पुस्तकको आफ्नै मौलिक पहिचान देखिन्छ । नेपालका पुराना शहरमध्येको एक भद्रपुरको छायाँमा पर्दै गएको पहिचानलाई प्रतिविम्बका रुपमा देखाउने प्रयास पुस्तको शक्तिका रूपमा बुझ्न सकिन्छ ।

लेखक दाहाल मेचीनगर ३ बाहुनडागीमा वि. सं २०३४ चैत्र २१ जन्मिएर हुर्के पनि रोजगारीको शिलसिलामा सदरमुकाम भद्रपुर झरेका उनी भद्रपुर ७ का बासिन्दा हुन् । उनले आफ्नो जन्मभूमि झापालाई देश विदेशमा चिनाउन गरेका विभिन्न प्रयासमध्ये यो पुस्तक पनि एउटा पाटो भएर आएको देखिन्छ । वि. सं २०८१ साल भदौमा प्रकाशन भइ पाठकका हातहातमा गइसकेको यस कृति नामाकरणमा भद्रपुरको प्रतिविम्ब भएर आएको भए पनि पुस्तक झापा र नेपालको समेत विम्ब बन्न सफल देखिन्छ ।

सम्बन्धित खबर