२०८१ मंसिर ९, आइतवार , ०१:०९:५२ बजे

Sajhamanch
'

मोरङमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

बिहिवार, मंसिर ६, २०८१

मोरङ । मोरङमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको एक सातापछि मृत्यु भएको छ ।

प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–४ किसान चोकमा प्रदेश १–०१–०१३ प ३३४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पम्फा श्रेष्ठ घाइते भएकी थिइन् ।

मोरङको मिक्लाजुङ गाउँपालिका–६ घर भएकी श्रेष्ठलाई गत कात्तिक २७ गते मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा सुधार नभएको भन्दै परिवारका सदस्यले अस्पतालबाट बुधबार राति निकालेका थिए ।

अवस्था थप जटिल बन्दै गएपछि पुनः उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगियो । उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर मृत्यु भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दिए ।

दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको बिर्तामोड नगरपालिका–१ का २१ वर्षीय अनिषकुमार कट्टेल पनि सामान्य घाइते भएका थिए । उपचारपश्चात उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जोशीले बताए ।

सम्बन्धित खबर