काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि सोमबार गरिने भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा आज दिउँसो उनको निधन भएको थियो ।
कान्छो छोरा निमेष लण्डनमा रहेको र उनी आएपछि सोमबार अन्त्येष्टि गरिने नेपाली कांग्रेसका नेता लोकेश ढकालले बताए ।
स्व. ढुंगानाका दुई छोरा र एक छोरी छन् । जेठा छोरा निशेष र छोरी नीता काठमाडौंमै छन् । उनको शवलाई सोमबारसम्म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने नेता ढकालले बताए ।
‘फ्रन्टलाइन अस्पतालमा शव राख्ने ठाउँ रहेनछ’, उनले भने, ‘त्यसपछि शिक्षण अस्पताल लैजाने कुरा भयो ।’
शनिबार दिउँसोसम्म ढुंगानालाई बत्तीसपुतलीस्थित घरमा सकुशल भेटेको, तर आइतबार निधनको खबर सुन्दा स्तब्ध भएको उनका साढु दाइ मदनराज शर्माले बताए ।
उनले भने, ‘हिजो मैले घरमै भेट्दा राम्रै थियो ।’
उनले शनिबार राति असजिलो भएपछि घर नजिककै भएका कारण फ्रन्टलाइन अस्पताल लगिएको हुनसक्ने उनले बताए । ढुंगाना नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा कलेजो रोगको उपचार गरी तिहारअघि काठमाडौं फर्किएको शर्माले बताए ।