२०८१ कार्तिक २९, बिहिवार , ०८:३९:५४ बजे

Sajhamanch
'

पर्वतीय र सामुद्रिक देशले साझा कार्यक्रम बनाएर काम गर्न राष्ट्रपति पौडेलको आह्वान

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्न आव्हान गरेका छन् ।

अजरबैजानको बाकु सहरमा यही सोमबारबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आज यहाँ आयोजना गरेको ‘माउन्टेन इन पेरिल, एडेसिङ लस एन्ड डयामेज इन द हिमालय’ ( ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’) शीर्षकको उच्चस्तरीय राउन्ड टेबल बैठकलाई सम्बोधन गर्दै उनले सो आव्हान गरेका हुन् ।

“पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनार माथि उठ्न सक्ने भएकोले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्न म हार्दिक आव्हान गर्दछु”, राष्ट्रपति पौडेलले भने ।

उनले मुख्य गरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रको लागि बढी सहयोग गर्नुपर्ने बताए । “बढी भन्दा बढी जलवायु वित्तको व्यवस्थापन गर्न २९ औँ जलवायु सम्मेलन सफल हुने मेरो विश्वास छ”, उनले भने ।

जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यसको सामना गर्न हामी सबैको साझा बुझाई र साझा प्रयास बनाउनु पर्ने भएकोले यस कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो ।

“जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधान गर्न पनि सहज हुने हाम्रो विश्वास हो”, राष्ट्रपति पौडेलले भने ।

सबैलाई आ–आफ्नो समस्या ठुलो लाग्नु स्वाभाविकै हो, तर पछिल्लो दिनमा नेपालले भोगेको जलवायु समस्याको चुनौती निकै हृदयविदारक रहेको राष्ट्रपति पौडेलले बताए ।

“तीन महिना अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामे गाउँलाई बगाएर लग्यो, जबकि त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य नै थियो”, उनले भने । त्यस्तै, विगत ३ महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र ५०० भन्दा बढी मानिसले ज्यान गुमाउन पुगेको र खर्वभन्दा बढीको हानी नोक्सानी भएको जानकारी उनले बताए ।

यस प्रकारको हानी नोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुबान तथा गत जुलाईमा क्यारिवियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुने उनको धारणा थियो ।

“भोलिका दिनमा यो मानवीय सङ्कट कसलाई कतिवेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो”, राष्ट्रपति पौडेलले भने ।

साथै, राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका प्रभाव बहु आयामिक भएकोले हानी नोक्सानीलाई जलवायु वित्त व्यवस्थापनका लागि नयाँ समष्टिगत संख्यामात्क लक्ष्यमा हानी नोक्सानी समेत समेट्न विशेष आव्हान गर ।

अन्त्यमा उनले प्रकृतिको संरक्षणका लागि विश्वलाई अपिल गर्दै भने–

ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः

पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।

वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिर्ब्रह्म शान्तिः

सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।।

ॐ शान्तिः शान्तिः शान्तिः ।।

कोप २९ सम्मेलनमा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन आज यहाँ राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको हो । सो अवसरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा किर्दीस्तानका राष्ट्रपतिलगायत विभिन्न देशका मन्त्री तथा प्रतिनिधिले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए ।

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) अन्तर्गत मङगलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आएका हुन् । उनलाई यहास्थित हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फरिद अहमदोले स्वागत गरेका थिए ।

यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ । सो भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञरसल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ ।

कोप २९ मा भाग लिन राष्ट्रपति पौडेल यसअघि यही कात्तिक २५ गते आइतबार काठमाडौँबाट दोहाको लागि प्रस्थान गरेका थिए। सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ ।

सम्बन्धित खबर