२०८१ कार्तिक २९, बिहिवार , ०१:०८:०० बजे

Sajhamanch
'

राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै

बुधवार, कार्तिक २८, २०८१

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले आज शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलले आजै नेपालका तर्फबाट ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा विशेष सत्र सञ्चालन गर्दै छन् । उक्त सत्रमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराइने छ ।

राष्ट्रपति पौडेल आजै कीर्गिस्तानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । सम्मेलनअन्तर्गत आयोजना हुने उच्चस्तरीय बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही सहभागी हुनेछन्।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार यहाँ आइपुगेका थिए । सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वका अधिकांश मुलुकका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्रभावशाली नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि सहभागी हुने छन् ।

सम्बन्धित खबर