२०८१ कार्तिक ७, बुधवार , ०६:०८:३५ बजे

Sajhamanch
'

झापामा पत्रकारहरुलाई बीमा सचेतना

बुधवार, कार्तिक ७, २०८१

झापा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय बिराटनगरले आज बिर्तामोडमा झापाका पत्रकारहरुलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको छ ।

बीमा सम्बन्धी समसामयिक विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया नाम दिइएको सो कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोदकुमार पोखरेलले सहजीकरण गरेका थिए ।

मानिस तथा सम्पत्तीको जोखिम बहन गर्ने ब्यवसाय नै बीमा भएकोले यसले जोखिमको करार गरिदिन्छ र नै मानिसले ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गर्न सक्दछन्, सहजीकरणका क्रममा कार्यालय प्रमुख पोखरेलले अथ्र्याएका थिए ।

बीमा व्यवसायको वर्तमान अवस्था बारे सुनाउँदै उनले जीवन, निर्जीवन, लघुबीमा र पुनर्बीमा गरी चार प्रकारका बीमा गर्ने ३७ वटा कम्पनी नेपालमा सञ्चालनमा रहेको अवगत गराए । २०८१ को असार मसान्तसम्ममा नेपालका ४३ दशमलव २७ प्रतिशत मानिसमात्र बीमाको पहुँचमा रहेकाले यसको ‘स्कोप’ प्रसस्त रहेको पोखरेलले बताए ।

कोशी प्रदेश कार्यालयका प्रमुख पोखरेलले नेपाल बीमा प्राधिकरण बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिष्पर्धी तथा विश्वसनीय बनाउँदै बीमा व्यवसायको नियमनकारी अर्धन्यायिक निकाय रहेको पनि प्रष्ट पारेका थिए ।

उनले नेपालमा १४ वटा जीवन बीमा कम्पनी र १४ वटै निर्जीवन बीमा कम्पनीले १ खर्ब ९७ अर्ब ९७ करोड रुपैयाँ बराबरको जोखिम बहन गरिरहेको पनि जानकारी दिए ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक पुष्पा खनालले सञ्चालन गरेको सो अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बीमा कम्पनीहरु प्रविधिमैत्री बन्नुपर्ने सुझाव दिए । कुनै पनि सवारी साधनको बीमा यातायात व्यवस्था कार्यालयमा पेस गर्न तत्कालै दिइने तर दुर्घटना भएको अवस्थामा कम्पनीले स्वामित्व नलिने गरेको तीतो यथार्थलाई उनले उजागर गरिदिएका थिए ।

कार्यक्रममा पत्रकारहरुले राखेका विभिन्न जिज्ञासाको निर्जीवनतर्फ सन्तोष उप्रेतीले, जीवनतर्फ तुलसीराम पौडेलले र अन्य विषयमा बिनोद पोखरेलले जवाफ दिएका थिए ।

सम्बन्धित खबर