२०८१ कार्तिक ६, मङ्गलवार , ११:४९:३३ बजे

Sajhamanch
'

मैले त व्यक्ति तोकेर छानबिन समिति गठन नगरौं भनेकै थिएँ, प्रतिवेदन आएपछि कार्यान्वयन गर्नैपर्‍यो : ओली

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभइ अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरूपमा पक्राउ गरिएको बताएका छन्।

उनले सोमबार पाँच विपक्षी दलहरूको ध्यानाकर्षणपत्र बुझ्दै संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघिबढेको पनि बताए।

‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन। मेरो कसैसँग दुराभाव छैन। मलाई केही लिनुदिनु छैन। मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौं भनेको थिएँ। अरू दल र स्वयं रविजीले गठन गरौं भनेपछि समिति गठन भयो। समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो,’ उनले भने।

मुख्य कुरा पार्टीहरूले विधि र पद्धतिलाई मान्नुपर्ने र त्यसैलाई स्थापित गर्नुपर्ने बताए।

‘हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन। लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन। अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ। थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन। मलाई कुनै स्टन्टबाजी गर्नु छैन। साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन,’ उनले भने।

ज्ञापनपत्र बुुझाउने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल (डिपी), राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी थिए।

सम्बन्धित खबर