
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई भेटेका छन्।
काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका विपदमा परेर घाइते भएकाहरूसँगको भेटमा स्वास्थ्य मन्त्री पौडेलले निको नहुँदासम्म राज्यले निस्शुल्क उपचार गर्ने बताएका हुन्।
‘बाढीपहिरो प्रभावित काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत बिरामीको निस्शुल्क उपचार र सेवाको गुणस्तरबारे जानकारी लिँदै पूर्ण निको नहुँदासम्म सरकारले उपचार गर्ने प्रतिबद्धता मन्त्री पौडेलको छ,’ मन्त्रालयले भनेको छ।
साथै विपद्का कारण स्वास्थ्य केन्द्र भत्किएर टेन्टमा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीका समस्या समाधानका लागि पहल गरिने पनि मन्त्री पौडेलले बताएका छन्।
मन्त्री पौडेलले बेथानचोक, धुलिखेल र पनौतिको प्रभावित क्षेत्र अवलोकन पनि गरेका छन्। संक्रामक रोग फैलन नदिन शुद्धीकरण तथा सरसफाइका सामग्री प्रभावकारी वितरण गर्न र स्वास्थ्य सचेतना फैलाउन उनले आग्रह गरेका छन्।