२०८१ असोज ३०, बुधवार , ०६:०६:०६ बजे

Sajhamanch
'

कर्णाली साकोसमा सदस्य विस्तारित भेला जारी : बिर्तामोडमा आज ५ वटा सेवाकेन्द्रको भेला सम्पन्न

शुक्रवार, असोज १८, २०८१

झापा । कोशी प्रदेशको तेस्रो ठूलो एवम् नेपालका उत्कृष्ट सहकारीहरुको सूचीमा ९ नम्बरमा रहेको झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सदस्य विस्तारित भेलालाई निरन्तरता दिँदै वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ ।

संस्थाले आफ्ना ५ वटा सेवा केन्द्रहरु खुदुनाबारी, शनिश्चरे, महानन्द चोक, कृषिथोक र बिर्तामोडबाट चुनिएर आएका १५० जना प्रतिनिधिहरुलाई आज शुक्रबार बिर्तामोडमा विस्तारित भेला आयोजना गरी सहकारी शिक्षा एवम् वित्तीय साक्षरता प्रवाह गरेको हो ।

संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिका संयोजक एवम् संस्था सञ्चालक समितिका सचिव भूपाल बस्नेतको अध्यक्षतामा आयोजित विस्तारित भेलामा यस्तो कार्यक्रम सम्पन्न गरिएको हो ।

सो विस्तारित भेलामा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले वर्तमानमा सहकारी अभियानको अवस्था, आर्थिक मन्दी र वित्तीय संकटका बाह्य कारणहरु, कर्णाली साकोसको वित्तीय कारोबारको अवस्था एवम् सदस्यहरुको लागि पुर्याइरहेको योगदान र सेवा सुविधाहरुका बारेमा सहजीकरण गरेका थिए ।

आफ्नो प्रस्तुतिमा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को लागि कर्णाली साकोसले गरेका नीतिगत परिमार्जनहरु बारे प्रष्ट पार्दै १५ वर्ष अगाडिदेखि संस्थाको निरन्तर शेयर सदस्य रही वित्तीय कारोबार गर्ने सदस्यहरुलाई सेवाकेन्द्र स्तरमा सम्मान गर्ने, परिचयपत्र प्रदान गर्ने, असल ऋणिहरुलाई ग्रिनकार्ड प्रदान गर्ने, कार्यक्षेत्रका पालिकाहरुसँगको साझेदारीमा उद्यमशीलता तालिम प्रदान गर्ने र तालिम लिएका सदस्यहरुलाई उद्यम गर्न नियमानुसार कर्जा प्रवाह गर्नेलगायत विषय बारे जानकारी दिए ।

यसैगरी संस्थाका सचिव एवम् कार्यक्रमका अध्यक्ष भूपाल बस्नेतले संस्थाले प्रदान गरेका सुविधाहरु पउने सदस्यहरु, संस्थाबाट कर्जा लिएर उद्यम गरिरहेका सदस्यहरु, संस्थाको सदस्यहरुको परिवारमा कर्णाली साकोस पुगेर मल्हमपट्टी गरेका दृश्यहरु समावेश गरेको करिब २५ मिनेट लामो भिडियो फुटेजहरु प्रस्तुत गरेर संस्था र सदस्यबीचको अन्तरसम्बन्ध प्रष्ट्याएका थिए ।

सो विस्तारित भेलामा सदस्यहरुले संस्थाको विभिन्न कार्यक्रम, सुविधा लगायतका विषयमा जिज्ञासा र सुझाव राखेका थिए ।

संस्थाको प्रधान कार्यालयका लेखा विभाग प्रमुख लक्ष्मीनारायण भट्टराईले सञ्चालन गरेको सो विस्तारित भेलामा उपस्थित सेयर सदस्यहरुलाई कोषाध्यक्ष एकराज विष्टले शाब्दिक स्वागत गरेका थिए भने सञ्चालक सदस्य भावना आचार्यले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कर्णाली साकोसले भदौ ९ गते दमकमा, २६ गते सुरुङ्गा पछि आज बिर्तामोडमा यस्तो विस्तारित भेला सम्पन्न गरिएको आयोजक शिक्षा तथा तालिम उपसमितिका संयोजक भूपाल बस्नेतले जानकारी दिए ।