काठमाडौं । यस वर्षको सेप्टेम्बर महिनामा ९६ हजार तीन सय पाँच जना पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका छन् ।
यो सङ्ख्या गएको वर्ष अर्थात् सन् २०२३ को भन्दा पाँच दशमलव ८२ प्रतिशत र कोभिड–१९ महामारी शुरू हुनुअघि अर्थात् सन् २०१९ को भन्दा चार प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका थिए ।
यस वर्षको सेप्टेम्बरमा समग्रमा पर्यटक आगमन बढे पनि भारतीय पर्यटकको सङ्ख्या भने झन्डै २० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सेप्टेम्बरमा २८ हजार ६९४ जना भारतीय पर्यटक आएकामा यो वर्ष २२ हजार ९८४ जना मात्रै आएका नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ
नेपालमा यस वर्ष भएको प्राकृतिक विपत्ति र सडक दुर्घटनामा भारतीय नागरिकसमेत प्रभावित भएकाले यसको असर पर्यटक आगमनमा देखिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।
सन् २०२४ को नौ महिनामा पर्यटक आगमन आठ लाख नाघेको छ । जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ६३९ जना पर्यटक नेपाल आएका छन् ।