२०८२ जेठ ६, सोमवार , ०३:१७:५३ बजे

Sajhamanch
'

मनसुनजन्य विपद् : निजी क्षेत्रका २० आयोजनामा २ अर्ब ३१ करोडको क्षति

सोमवार, असोज १४, २०८१

काठमाडौं । गत बिहीबारदेखि लगातार रूपमा परेको वर्षाका कारण निजी क्षेत्रका २० जलविद्युत् आयोजनाका साथै आधा दर्जनभन्दा बढी सरकारी आयोजना प्रभावित भएका छन् ।

बाढी पहिरोको असर जलविद्युत् आयोजनामा परेसँगै हाइड्रो समूहको सेयर बजारमा पनि पहिरो गएको छ । ३ हजार १७ मा रहेको हाइड्रोको इन्डेक्स आइतबार घटेर २ हजार ९५७ मा झरेको छ ।

यस समूहमा ७१ अंकको पहिरो जाँदा २ दशमलव ३६ अंकले क्षति पुगेको छ । आइतबार ८२ वटा हाइड्रोको मूल्य घटेर राताम्मे भएका छन्

अविरल वर्षाले जलविद्युत् आयोजनाका साथै प्रसारण लाइनमा पनि क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको गोदक दमक खन्डको ५१ र ५२ न टावरमा पूर्ण क्षति पुगेको छ ।

यसैगरी, ५० र ५३ नं. टावरमा आंशिक क्षति भएको छ । यसले गर्दा काबेली कोरिडोरमा जोडिने १७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडबाट बाहिरिएको छ ।

अविरल वर्षाका कारण आएको बाढीले निजी क्षेत्रका २० वटा जलविद्युत् आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०ले जनाएको छ ।

बाढीका कारण १८ बढी आयोजनामा क्षति पुगेको जनाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विगतको भन्दा फरक र ठूलो बाढी आएका कारण पनि जलविद्युत् आयोजनाहरूमा बढी क्षति भएको बताए ।

उनका अनुसार अहिलेसम्म प्राप्त भएको तथ्यांकनुसार २० आयोजना प्रभावित भएका र १८ आयोजनामा क्षति पुगेको छ । आयोजनास्थलसँगको सम्पर्क टुटेकाले यो संख्या अझ बढ्नसक्ने उनले बताए ।

जलविद्युत् आयोजनाको पावरहाउस, हेडवक्र्स र सामानहरू बगाउनुका साथै सडक पूर्वाधारबाट विच्छेद भएको इप्पानको तथ्यांक छ । बाढीका कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जाने पहुँचमार्ग बन्न ६ महिना लाग्नेगरी क्षति भएको उनको भनाइ छ ।

सम्बन्धित खबर