२०८१ मंसिर १२, बुधवार , ०८:०६:०८ बजे

Sajhamanch
'

मुख्यमन्त्री कार्कीद्वारा डुवान क्षेत्रको निरीक्षण, उद्धार र राहतका लागि सुरक्षा निकायलाई निर्देशन

शनिवार, असोज १२, २०८१

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवान क्षेत्रको निरीक्षण गरेका छन् ।

आज दिउँसो मुख्यमन्त्री कार्की र तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरुले डुवान क्षेत्रको निरीक्षण गरेका हुन् । मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका ६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्दार गर्न सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह गरे ।

स्थलगत निरीक्षण पछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्दारका लागि सुरक्षा निकायसँग समन्वय गरेको बताइएको छ । बाढीमा फसेका तिनीहरुलाई हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइरहेको हो ।

यस्तै प्रदेशभर वर्षा भइरहेको र बाढी पहिरो गइरहेको अवस्थामा तयारी अवस्थामा रहन मुख्यमन्त्रीले सुरक्षा निकायका प्रदेश प्रमुखहरुलाई निर्देशन पनि दिएका छन् । अहिले प्रदेशका सबै जिल्लामा बाढी पहिरो गएको क्षेत्रमा उद्दार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी पनि दिए ।

अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७५० मापन गरिएको छ । कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पूलबाट अत्यावश्यक बाहेकका सवारी साधनलाइ आवागमनमा रोक लगाइएको छ ।