![](https://sajhamanch.com/wp-content/uploads/2024/09/image.webp)
झापा । भेनेजुएला सरकारले राष्ट्रपति पदका विपक्षी दलका उम्मेदवार एडमन्डो गोन्जालेजले स्पेनमा शरण खोज्दै देश छोडेको जनाएको छ ।
उप–राष्ट्रपति डेल्सी रोड्रिग्वेजले सामाजिक सञ्जालमा केही दिनअघि गोन्जालेजले काराकसमा रहेको स्पेनी दूतावासमा स्वेच्छाले शरण लिएको उल्लेख गरेका छन् ।
स्पेनका विदेशमन्त्री जोसे म्यानुएल अल्बारेसले गोन्जालेज आफ्नै अनुरोधमा स्पेनिस वायुसेनाको विमानबाट देश छाडेको बताएका छन् । उनले स्पेन सरकार भेनेजुएलाका सबै राजनीतिक अधिकारका लागि प्रतिबद्ध रहेको बताएको बीबीसीले जनाएको छ ।
भेनेजुएलाका विपक्षी दलका नेता गोन्जालेजलाई केहि दिनअघि एक अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । गएको जुलाईमा राष्ट्रपतिका लागि भएको चुनावमा निकोलस मादुरो फेरि सत्तामा फर्किएपछि विपक्षीले धाँधली भएको आरोप लगाउँदै आएका छन् ।
सरकार नियन्त्रित राष्ट्रिय निर्वाचन परिषद्ले निकोलस मादुरोलाई विजयी घोषणा गरेको थियो । तर विपक्षीले चुनावको नतिजा र घोषणामा विवाद गरेपछि उनलाई पक्राउ गर्न पुर्जी जारी भएको हो । भेनेजुएला राजनीतिक सङ्कटमा गहिरिएको छ ।