झापा । भद्रपुरमा स्वतफुर्त रुपमा लाग्दै आएको धार्मिक मेला र रथयात्राको तयारी पूरा भएको छ ।
भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा आज जन्माष्टमीको अवसरमा भव्य मेला लाग्दैछ । विगतका वर्षको तुलनामा यस वर्ष धूमधामका साथ श्रीकृष्ण जन्माष्टमी मनाउन लागिएको बुझिएको छ ।
भक्तजनहरूको सुरक्षा र भिडभाड नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसँग समन्वय गरी स्वयंसेवक परिचालन गरिने आयोजक समितिले जनाएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोलि निकालिने २२ औं श्रीकृष्ण रथयात्राको तयारी पनि पूरा भइसकेको समितिले जनाएको छ । विभिन्न झाँकीसहित निकालिने रथयात्रा गौशाला, झापाचोक, संगमचोक, सगरमाथा चोक, लेखनाथ चोक, चन्द्रगढी बजार हुँदै एसपी मोड, क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा आएर समापन हुनेछ ।