दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज आइतबार दमक इलाका अन्तर्गत सेवा केन्द्रहरुका सदस्यहरुको बिस्तारित भेला सम्पन्न गरेको छ । कमल गाउँपालिकाको पाडाजुंगीमा दमक, नमूना ढुुुकुरपानी, लखनपुर, गौरादह, जुरोपानी, बैगुन्धुरा र क्याम्पा सेवा केन्द्रका सदस्यहरुको बिस्तारित भेला गरिएको हो ।
संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा संयोजक भूपाल बस्नेतको अध्यक्षतामा भएको बिस्तारित भेलामा करिब सवासय सदस्यहरुको उपस्थिति थियो । सो भेलामा साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले कर्णाली सहकारी पूर्णरुपमा सदस्यकेन्द्रित संस्था भएकाले सदस्यहरु माझ यस्ता कार्यक्रमहरु निरन्तर गरिँदै आएको प्रष्ट पारेका छन् ।
सञ्चालक समितिको तर्फबाट समय समयमा सदस्यहरुमाझ आएर सुझाव र सल्लाह संकलन गर्दै संस्थाका नीति नियमहरु बनाउने गरिएकाले सेयर सदस्यहरुले पनि संस्थाले बनाएका हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउनु पर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमको अध्यक्षता गरेका संस्थाका सचिवसमेत रहेका शिक्षा उपसमिति संयोजक बस्नेतले कर्णाली सहकारी सदैब सदस्यहरुको जीवनस्तर माथि उठाउनका लागि क्रियाशील रहेको बताउँदै सदस्यहरुले पनि धेरैवटा सहकारीको सदस्य बन्ने भन्दा कर्णालीमा मात्रै सदस्य बनेर यसैका कार्यक्रमहरुमा सहभागिता जनाउनु पर्ने सुझाव दिए ।
सहकारीमा सदस्यहरु सचेत भए भने संस्थामा कुनै समस्या नआउने भन्दै उनले सञ्चालकहरुलाई आवश्यक खबरदारी गर्न पनि सदस्यहरुलाई सचेत गराएका थिए ।
सो कार्यक्रममा सहभागीहरुले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरु माथि टिप्पणी र जिज्ञासा राखेका थिए । संस्थाले सञ्चालन गरेको विशेष उपचार कोष, कर्जा सुरक्षण कोष लगायतका कोषहरुका बारेमा सदस्यहरुले जिज्ञासा राखेका थिए । सो सम्बन्धी अध्यक्ष श्रेष्ठले प्रष्ट्याएका थिए ।