२०८१ फागुन १२, सोमवार , ०५:३८:०४ बजे

Sajhamanch
'

मन्त्री दाहाललाई स्विस राजदूत मोन्टेलोने भेटिन्

बिहिवार, साउन ३१, २०८१

काठमाडौ । नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेकी छन् । आज बिहीबार मन्त्रालयमा पुगेर राजदूत मोन्टेलोनेले मन्त्री दाहालसँग द्विपक्षीय हितका बारेमा कुरा गरेका प्रेस संयोजक गोपाल झापालीले जानकारी दिए ।

भेटमा स्विस राजदूत मोन्टेलोनेले दुई देशबीचको ६ दशकभन्दा लामो कुटनीतिक सम्बन्ध दर्विलो र सद्भावपूर्ण रहेको सुनाएकी थिइन् । लामोसाँघु जिरी सडक, अरनीको राजमार्ग निर्माण तथा स्तरोन्नतिजस्ता कार्य दुई देशबीचको सम्बन्धको कोशेढुंगाको रुपमा रहेको राजदूत मोन्टेलोनेले स्मरण गराइन् ।

नेपालको बदलिएको परिवेश र आवश्यकताका आधारमा आफ्नो देशले नेपाललाई गर्ने सहयोग र सहकार्यको स्वरुप फैर्दै लगेको बताउँदै राजदूत मोन्टेलोनेले निर्माण कार्यमा प्रत्यक्ष सहयोग मात्र नभई सुरुङ निर्माण तथा अन्य प्राविधिक क्षेत्रमा सीप र ज्ञान हस्तान्तरणका लागि तयार रहेको जानकारी दिइन् ।

नेपालको शान्ति प्रकृया, संविधान लेखन तथा कार्यान्यवन सराहनीय रहेको बताउँदै राजदूत मोन्टेलोनेले आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि स्विट्जरल्याण्ड सदैव तयार रहेको अवगत गराएकी प्रेस संयोजक झापालीले जानकारी दिए ।

राजदूतसँगको भेटमा मन्त्री दाहालले थोरै जनसंख्या भए पनि स्विट्जरल्याण्डले विकास तथा प्रविधिका क्षेत्रमा गरेको प्रगतिप्रति बधाई ज्ञापन गरे । उनले नेपालको भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रमा स्विट्जरल्याण्डले पुर्याएको योगदानप्रति आभार पनि व्यक्त गरेका थिए ।

मन्त्री दाहालले नेपालको शान्ति प्रकृया, कोभिड महामारी, भुकम्पजस्ता विशेष अवस्थामा स्विट्जरल्याण्डले पुर्याएको योगदानको पनि स्मरण गरे । नेपालको शान्ति प्रकृयाका लागि महत्वपूर्ण मानिएकोे ‘टीआरसी’ विधेयक पास भइसकेको जनाउँदै मन्त्री दाहालले यसले नेपालको शान्ति प्रकृयामा टुङ्गोमा पुर्याउने र अब नेपालको विकास र समृद्धिको गति लिने पनि सुनाए ।

उक्त भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा मन्त्रालयका अन्य अधकारीहरुको पनि सहभागिता थियो ।