२०८१ कार्तिक १०, शनिवार , ०६:३३:३९ बजे

Sajhamanch
'

कोशी सरकारले वितरण गर्यो इर्खुवाखोला बाढीबाट ज्यान गुमाएकाको परिवारलाई राहत

मङ्गलवार, साउन २२, २०८१

भोजपुर । कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट ज्यान गुमाएकाको परिवारलाई राहत वितरण गरेको छ ।

यही साउन १६ गतेको बाढीका कारण मृत्यु भएका दुई परिवार र बाढीपीडितलाई राहत वितरण गरिएको हो । बाढीले बगाउँदा इर्खुवाखोला जलविद्युत आयोजनामा काम गर्ने मजदुर श्यामकुमार थारू र रमेश थारूको मृत्यु भएको थियो ।

प्रदेश सरकारको तर्फबाट तत्कालका लागि मृतक परिवारलाई रु. एक–एक लाख हस्तान्तरण गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईका अनुसार बाढीबाट प्रभावित पाँच परिवारलाई चालम, दाल, तेल, नुन, कम्बल र त्रिपाल वितरण गरिएको छ ।

सो जिल्लाका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका पीडित परिवारको पूरा विवरण पाएपछि थप राहत वितरण गरिने उनको भनाई छ ।

“प्रदेश सरकारको तर्फबाट घटनास्थलको स्थलगत अनुगमन गरेर पीडितलाई राहत वितरण गरेका छौँ”, उनले भनिन्, “बाढीका कारण मानवीयसँगै निकै ठूलो भौतिक क्षति भएको छ । तत्कालका लागि मृतक परिवार र अन्य पाँच परिवारलाई राहत वितरण गरेका छौँ । थप क्षतिको विवरण आएपछि अन्य परिवारलाई पनि वितरण गछौँ ।”

आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लव अधिकारीसहितको टोलीले साल्पासिलिछो गाउँपालिकाको फेदी भन्ने स्थानसम्म पुगेर बाढीले पुर्याएको क्षतिबारे जानकारी लिएको जनाइएको छ ।

कोशी प्रदेश सरकारले यथाशीघ्र क्षतिको पूर्ण विवरण मन्त्रालयमा पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुल र मोटरेबल पुल पुनःनिर्माण, मर्मत तथा संरक्षणका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

प्रदेश सरकारले पीडित परिवारलाई सहज रूपमा घरदैलोमै पुगेर राहत वितरण गर्न मन्त्रिपरिषद्बाट निर्णय गरेर काम अघि बढाएको उनले बताए ।

बाढीबाट क्षति पुगेका पुलहरूको पुनःनिर्माण तथा मर्मत गरी चाँडो जनतालाई सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको उनको भनाई छ ।

थुम्लुङखोलाबाट सुरु भएको इर्खुवाखोला बाढीले निर्माणाधीन नागदह पक्की पुल, निर्माणको अन्तिम चरणमा पुगेको तामुटार पक्की पुल, गौडेनी पक्की पुल, टावुटार झोलुङ्गे पुल, गोथेबजार झोलुङ्गे पुल, नागदह झोलुङ्गे पुल, दोभाने झोलुङ्गे पुल र वागवालुङ झोलुङ्गे पुलमा क्षति पुगेको साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए ।

त्यस्तै, बाढीले इर्खुवाखोला जलविद्युत आयोजनामा पूर्ण क्षति पुगेको उनको भनाई छ । त्योसँगै अन्य तीनवटा हाइड्रोपावर र खोला किनारका बस्तीमा क्षति पुगेको अध्यक्ष कुलुङले बताए ।

सम्बन्धित खबर