२०८१ कार्तिक २, शुक्रवार , ०७:५२:३९ बजे

Sajhamanch
'

पूर्वमन्त्री गुप्ताविरुद्ध मुद्दाको चाङ : फेरि थपियो सम्पत्ति शुद्धीकरणको मुद्दा

बुधवार, साउन ९, २०८१

काठमाडौं । अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा लागेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध फेरि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

उनीमाथि ८५ लाख रुपैयाँ बराबरको बिगो धन सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको दाबी गर्दै सोही बराबर जरिवाना, दोब्बर बिगो र कैदको सजाय गर्न अभियोग पत्रमा माग गरिएको छ ।

प्रशान्तकुमार संघाईको जाहेरीले उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । पूर्वमन्त्री गुप्ताविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा विचाराधीन छ ।

प्रतिवादी गुप्ता समेतले अपहरण कसुरसहित सम्बद्ध कसुरबाट फिरौतीको रूपमा प्राप्त गरेको कसुरजन्य सम्पत्तिलाई उत्पत्तिको गैरकानूनी स्रोतबाट अलग गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको हुन सक्ने देखिएको भन्दै दोस्रो मुद्दा दायर गरेको हो ।

गुप्तालाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ (संशोधन सहित) को दफा ३ को उपदफा (१) (क) (ख) र (ग) तथा उपदफा (२), (३) बमोजिमको कसुर गरेको देखिएकाले हुनुपर्ने माग अभियोग पत्रमा गरिएको छ ।

त्यस्तै, गुप्ताको नाममा दर्ता भएको वा २ च ९४५४ र वा ६ च ९१०६ समेत का दुई थान सवारी साधन सोही ऐनको दफा ३४ (१) (ख) बमोजिम जफत हुन समेतको माग दाबी अभियोग पत्रमा गरिएको छ ।

सम्बन्धित खबर