बिर्तामोड । झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा यस वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
बिर्तामोडमा सोमबार आयोजित कार्यक्रममा उनीहरुलाई जनही २१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि कोशी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, कौडिन्यकी पत्नी यमुना आचार्य लगायतले पुरस्कार वितरण गरेका हुन् ।
रेग्मी मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् । लामा नेपाल टेलिभिजनका झापा संवाददाता, प्रेस सेन्टर कोशी प्रदेशका सदस्य एवं पत्रकार महासंघ झापा शाखाका सचिव हुन् ।
प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आङ्बोले पुरस्कृत पत्रकारहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सेन्टरका उपाध्यक्ष होमप्रकाश अधिकारीले शाब्दिक स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सेन्टरका सचिव पुष्प खड्काले गरेका थिए ।
जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापा शाखाले सो पुरस्कार स्थापना गरेको हो ।