२०८१ माघ १२, शनिवार , ११:५५:४२ बजे

Sajhamanch
'

बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन

सोमवार, साउन ७, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ‘पारिको होइन, बारीको खाऊँ’ भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।

नगरकी कार्यवाहक प्रमुख सीता ढुंगानाले वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको सोमबार उद्घाटन गरेकी हुन् ।

नगरपालिकाले ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ ।

वडा नम्बर १ मा अतिथिसदन, वडा नम्बर ३ मा बिर्ताबजार, वडा नम्बर ४ मा सुलभ, वडा नम्बर ५ मा तमुटोल र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्र स्थापना गरिएको छ ।

यस्तै, बुट्टाबारी, गरामनी, चारपाने र सैनिकबजारमा संकलन तथा बिक्री केन्द्र र कृषिथोक बजारमा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ ।

नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले स्थानीय कृषिजन्यवस्तुको बजारीकरण, विषादी न्यूनीकरण र अन्य कृषिबजारको तुलनामा सुलभ मूल्य नै तरकारी बिक्री तथा संकलन केन्द्रको विशेषता रहेको जानकारी दिए ।

उनले स्थानीय कृषकले उत्पादन गरेका सबै प्रकारका तरकारी तोकिएका संकलन केन्द्रबाट मात्रै खरिद गरिने बताए । बिक्री केन्द्रमा पुर्याउनुअघि तरकारीमा विषादी मापन गरिनेछ ।

विषादीरहित खान योग्य तरकारीमात्रै बिक्री गरिने कृषि शाखाले जनाएको छ । बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षको योजना अनुसार तरकारी बजार व्यवस्थापन कार्यक्रम अघि बढाएको हो । बिर्तामोडमा तरकारी व्यवसाय गर्ने ११७ जना कृषक छन् ।

सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एवं नगरकी कार्यवाहक प्रमुख सीता ढुंगाना, वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईं, कार्यपालिका सदस्य संगीता सिवा लगायत जनप्रतिनिधि तथा कृषक, उपभोक्ताहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर