काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताएका छन् ।
उनले वर्तमान सरकारले मुलुकलाई निकास दिने गरी शल्यक्रिया गर्न नसक्ने भएकाले दुई ठूला दलको सहकार्य गरेर अघि बढ्ने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पारे ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतको विपक्षमा बोल्दै सांसद खानले दुई ठूला दल कांग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले केही समयअघि नै गरेको अपील आजको दिनमा आएर मिलेकाले पनि आफूहरूले नयाँ सत्ता समीकरणलाई स्वागत गरेको बताए ।