चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा ७ जना भारतीय नागरिक रहेका खुलेको छ ।
वीरगन्जबाट काठमाडौंतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका ३ जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक ७ जना गरी २४ जना रहेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
हालसम्म जिल्ला प्रशासन कार्यालयले ७ जना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ । सोही मार्ग भएर काठमाडौंबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ ।
नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन । सो बसका यात्रुमध्ये ३ जना पौडिएर बाँच्न सफल भएका छन् । पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।