२०८१ मंसिर १०, सोमवार , ०५:२७:४९ बजे

Sajhamanch
'

मेचीनगरमा सार्वजनिक सुनुवाई : नगरवासीले राखे गुनासा, सुझाव र अपेक्षा

शुक्रवार, असार २८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा भए/गरेका कार्यक्रमका सन्दर्भमा बिहीवार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

उक्त नगरपालिकाको आयोजना र काजी मिडिया एण्ड टेक्निकल प्रालिको सहजीकरणमा सो कार्यक्रम भएको हो ।

त्यसक्रममा विजय डालमिया, भूमि पौडेल, गोपाल बस्नेत, राजु महर्जन, लाक्पा लामा, सन्दिप थापा, सरस्वती सिटौला, देबु बानियाँ, प्रविन अधिकारी, खगेन्द्र घिमिरे, मञ्जील देवान लगायतले नगरप्रति गुनासा, सुझाव र अपेक्षा व्यक्त गरेका थिए ।

वक्ताहरुले नगर र नगरवासीलाई समृद्ध बनाउन स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद लगायत क्षेत्रलाई प्राथमिकता दिइनुपर्ने सुझाव दिए ।

उनीहरुले स्थानीय सरकारको हैसियतले नगर क्षेत्रमा व्यापार/व्यवसायको प्रवर्द्धन, लागूऔषध दुव्र्यशन न्यूनीकरण, खेलकुद क्षेत्रको विकास र सबै वडामा प्राथमिकताका आधारमा भौतिक पूर्वाधार विकासको अपेक्षा राखे ।

त्यसपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सहभागीबाट प्राप्त गुनासा र सुझावलाई सम्बोधन गर्दै त्यसप्रतिको आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

सुशासन प्रवर्द्धनका लागि सार्वजनिक सुनुवाई गरिएको बताउँदै उनले अहिले थुप्रै जनमुखी कार्यहरू अघि बढाइए पनि गर्न अझै धेरै बाँकी रहेको सहभागीलाई सुनाए ।

नगर र नगरवासीको समग्र हितका लागि ठोस नतिजा आउनेगरी कामहरू अगाडि बढिरहेको जानकारी गराउँदै नगरप्रमुख बुढाथोकीले अब जनचाहना अनुसार कार्यसम्पादन हुने स्पष्ट पारे ।

त्यस्तै, नगर उपप्रमुख मीना उप्रेतीले आफूहरू जनताको सेवाका लागि आएको बताउँदै जनअपेक्षा र नगरवासीको आवश्यकता अनुसार क्रमश: कार्यक्रमले तीव्रता पाउने बताइन् ।

यसैगरी, नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले वर्तमान र आगामी आर्थिक वर्षको जनपक्षीय कार्यक्रमबारे चर्चा गर्दै सेवाग्राहीलाई छिटो र छरितो ढंगले सेवा प्रवाह गराउन आफूहरू प्रतिबद्ध रहेको बताए ।

सो अवसरमा उनले सेवाग्राहीले प्रक्रिया पूरा गरेका सबै काम बिना झन्झट यथाशीघ्र सम्पन्न गरी चुस्त र दुरुस्तरुपमा सेवा दिने बताए ।

सञ्चारकर्मी अम्बिका भण्डारीले सहजीकरण गरेको सो कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, नगरवासी र सञ्चारकर्मीहरूको सहभागिता थियो ।

शुक्रवार, असार २८, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर