काठमाडौं । नेपाल प्रहरीले मनसुनी वर्षाका कारण देशका विभिन्न राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन आग्रह गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए ।
प्रहरीका अनुसार अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले ठाउँ–ठाउँमा भत्किएर र भासिएर अवरुद्ध भएका दर्जनौं सडक अझै खुलेको छैन ।
वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै रहेकाले विशेष ख्याल गर्न प्रहरीले नागरिकहरूसँग आग्रह गरेको छ ।
अवरोध नभएका राजमार्गमा पनि यातायातको चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन अनुरोध गरिएको कार्कीले बताए ।