२०८१ कार्तिक ४, आइतवार , १२:१६:०६ बजे

Sajhamanch
'

एमाले अध्यक्ष ओली भन्छन् : शेरबहादुरजीको इमानमा शंका छैन

सोमवार, असार २४, २०८१

काठमाडौं । कांग्रेसले दुई दलबीच भएको सहमतिलाई संस्थागत रूपमा स्वागत गर्दै अनुमोदन गरेकामा एमाले संसदीय दलको बैठकले आभार व्यक्त गरेको छ । आइतबार संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको इमानप्रति आफूलाई कुनै शंका नभएको पनि बताएका छन् ।

ठूलो दलको हैसियतले प्रधानमन्त्री हुन खोजेको आशंका नहोस् भनेरै कांग्रेसले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेर ओलीलाई बुझाइसकेको छ । यसअघिको सरकार निर्माणमा संसदीय दलले सांसद संख्या मात्रै तोकेर निर्णय पठाउने प्रचलन रहेकामा यस पटक सबै सांसदको हस्ताक्षर नै गरेर बुझाइएको हो । एमालेले पनि आइतबार आफ्ना सांसदको हस्ताक्षर संकलन गरेको छ ।

एमाले नेता पदम गिरीका अनुसार बैठकमा अध्यक्ष ओलीले कांग्रेस सभापति देउवा आफूले बोलेका कुरामा अडिग रहने नेता भएको भन्दै कांग्रेसप्रति अविश्वास र शंका नभएको बताएका थिए । ‘पहिलो दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व गर्ने हो । सहमतिअनुसार अघि बढ्नेमा कुनै विवाद छैन । दुई दलबीच भएको सहमतिलाई लिएर खेल्न र भाँड्न खोजिएको छ । दाहालजी (प्रधानमन्त्री पुष्पकमल दाहाल) यसमा लागिरहनुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै गिरीले भने, ‘राष्ट्रपतिलाई ७६ ९३० मा जानका लागि दबाब दिइरहेका छन् । तर, देउवाजी आफूले बोलेका कुरामा अडिग हुनुहुन्छ । मलाई त्यसमा पूरै विश्वास छ । यसमा तलमाथि हुँदैन ।’

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले असार १७ मा भएको दुई दलको सहमतिलाई अनुमोदन गर्नुका साथै बैठकले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न पुनः आग्रह गरेको पनि बताए ।

‘सरकारको स्थिरता र अहिले देखिएका समस्याको सम्बोधन पनि दुई दल मिल्दा मात्रै सम्भव हुन्छ, देशको हितमा हुन्छ भन्ने निष्कर्ष एमालेको छ,’ बर्तौलाले भने । ओलीले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि कडा आलोचना गरेको स्रोतले बताएको छ । गठबन्धनमै रहेर पुराना दलका नेताहरू सबैको फाइल खोल्छु भन्दै ‘स्टन्टबाजी’मा गृहमन्त्री उत्रिएको ओलीको आरोप थियो ।

सम्बन्धित खबर