२०८१ मंसिर १३, बिहिवार , ०८:१९:३७ बजे

Sajhamanch
'

कृषिलाई प्राथमिकतामा राख्ने नीति बनाई कार्यान्वयन गर्ने तयारी छ : मुख्यमन्त्री कार्की

शनिवार, असार २२, २०८१

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा सरकारले कृषिलाई प्राथमिकतामा राख्ने नीति बनाई त्यस अनुसारका कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको बताएका छन् ।

मोरङको कटहरी गाउँपालिकामा आयोजित ‘किसानसँग कृषिमन्त्री’ विषयक अन्तक्र्रियामा मुख्यमन्त्री कार्कीले जीवनको आधार नै कृषि भएकाले कृषिलाई आधुनिक र उन्नत प्रविधिमा रूपान्तरण गर्न सरकारले ध्यान दिने बताए ।

यस क्षेत्रमा सञ्चालित अधिकांश उद्योगहरू कृषिमा आधारित रहेकाले पनि सरकारले कृषि उत्पादन र त्यसको बजारीकरणमा विशेष ध्यान दिने उनको भनाई थियो ।

मुख्यमन्त्री कार्कीले पछिल्लो समय प्रदेशमा मासुजन्य वस्तुको उत्पादन बढेको भएपनि दाना उत्पादन बढ्न नसकेकाले दाना उत्पादन बढाउन आवश्यक बाली लगाउन र उद्योग स्थापना गर्ने योजना बनाउन मन्त्रालयलाई निर्देशन दिए ।

चाहिएको बेलामा सुनसरी मोरङ सिँचाइ आयोजनाले नहरमा पानी नछोड्दा उत्पादनमा असर परेको भन्दै किसानहरूले नहरमा पानी छोड्ने तालिका किसानहरूको आवश्यकताका आधारमा बनाइदिन मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।

जवाफमा मुख्यमन्त्री कार्कीले किसानलाई चाहिएका बेला नहरमा पानी छोड्ने व्यवस्थाका लागि सरकारले पहल गर्ने बताए । उनले किसानका उत्पादनहरूको बजारीकरण गर्न आवश्यक सहजीकरण गर्ने पनि बताए ।

कटहरीका तरकारी उत्पादक किसान कोपिन्द्र सिंहले आगामी वर्षको बजेटमा सरकारले कृषि सामग्री, बिउबिजन र विषादीमा मूल्य अभिवृद्धि कर लगाउँदा किसानलाई असर पर्न सक्ने चिन्ता व्यक्त गरेका थिए ।

उनीहरुले कृषि उत्पादनमा विगतमा जस्तो भ्याट लगाउन नहुने भन्दै किसानलाई निःशुल्क विद्युत उपलब्ध गराउनुपर्ने बताए ।

कटहरी तरकारी जोनका अध्यक्ष शिवनाथ सिंहले तरकारी उत्पादक किसानलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

किसानको खेतबाट बजारसम्म उत्पादन ढुवानी गर्न बाटोघाटो र पूर्वाधारहरु चुस्त नहुँदा लागत बढेको भन्दै उनले सरकारले त्यसमा ध्यान नदिएको टिप्पणी गरे । उनले बिचौलियाहरूका कारण किसानहरू मर्कामा परेका बताए ।